
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र टोटनह्याम हट्सपरले बराबरी खेलेका छन् ।
आइतबार राति भएको खेलमा चेल्सी र टोटनह्यामले २–२ गोलको बराबरी खेलेका हुन् ।
चेल्सीको मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोलीका लागि कालिडोउ कुलीबाली र जेम्स रिसले एक एक गोल गरे । टोटनह्यामका पिएर इमिल होजवर्ग र ह्यारी केनले एक एक गोल गरे ।
खेलको १९ औं मिनेटमा कुलीबालीले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ६८ औं मिनेटमा होजवर्गले गोल गर्दै टोटनह्यामलाई १–१ गोलको बराबरीमा ल्याए ।
७७ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई पुनः २–१ को अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा केनले गोल गर्दै टोटनह्यामलाई २–२ को बराबरीमा ल्याएका थिए ।
यो खेलमा तातो बहसमा उत्रिएका चेल्सीका प्रशिक्षक थोमस टुचेल र टोटनह्यामका प्रशिक्षक एन्टोनियो कोन्टे दुवैले रातो कार्ड पाएका छन् ।
यस बराबरीसँगै दुवै टोलीको २ खेलमा ४ अंक भएको छ । टोटनह्याम अंक तालिकाको चौथो स्थानमा तथा चेल्सी सातौंमा छ ।
आइतबार राति नै भएको प्रिमियर लिगको अर्को खेलमा नटिङ्घम फरेष्टले वेष्ट ह्याम युनाइटेडलाई १–० ले हरायो ।
प्रतिक्रिया दिनुहोस्