
काठमाडौं । रसुवाको थाम्बुचेतमा प्रहरी र स्थानीय गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् ।
गोल्जुङ र चिलिमेका बासिन्दा सरह अतिप्रभावित किसिमको जलविद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको थियो । सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी घाइते भएका छन् ।
आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक्षका बीचमा झडप भएको थियो । घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक÷एक प्रहरी निरीक्षकसहित तीन सशस्त्र प्रहरी र तीन नेपाल प्रहरी छन् ।
आन्दोलनरत गतलाङवासीको मागलाई साञ्जेन जलविद्युतका आयोजना प्रमुख र सञ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशकसमेतका कम्पनी बोर्डका पदाधिकारीले स्थानीयको माग बेवास्ता गरी प्रहरीसँगको झडप गराउने स्थिति सिर्जना गराएको उनीहरूले आरोप लगाएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका संयुक्त सुरक्षा बलले अश्रु ग्यास र फाइरिङ गरी स्थिति नियन्त्रणमा लिएका थिए ।
७५ लाख बराबरको भौतिक संरचना क्षति भएको प्रारम्भिक अनुमान गरिएको र क्षतिको यकिन तथ्याङ्क निकाल्ने काम भइरहेको जिल्ला प्रहरी प्रवक्ता विष्णुप्रदीप बत्स्यालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्