२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपति कार्यालयबाट पठाइएको पत्र प्रतिनिधि सभामा पेस


104
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधि सभामा पढेर सुनाइएको छ ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिपछि प्रतिनिधि सभाका सचिव करविरनाथ योगीले राष्ट्रपतिका तर्फबाट सचिव यादवप्रसाद कोईरालाले पठाएको पत्र पढेर सुनाउनुभएको हो ।

पत्रमा साउन ६ गते नै पारित भएर सभामुखबाट प्रमाणित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको विधेयक संशोधन हुनु वाञ्छनीय भएको भन्दै सन्देशसहित फिर्ता पठाउने निर्णय भएको उल्लेख छ ।

‘प्रतिनिधि सभाको वि.सं. २०७९ साल साउन ६ गतेका दिन बसेको बैठकबाट समेत पारित भइ सम्माननीय सभामुख ज्यूबाट प्रमाणित भइ प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति ज्यूसमक्ष पेस भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा यो पत्र लेखिँदै छ । प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनः गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनः विचार हुन वाञ्छनीय भएकोले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्यूबाट नेपालको संविधानको धारा ११३ को उपधारा ३ बमोजिम सन्देशसहित यो विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउने निर्णय भएकोले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक यसैसाथ पठाइएको व्यहोरा सादर अनुरोध छ ।’, राष्ट्रपतिले पठाएको पत्रमा लेखिएको कुरा सचिव योगीले पढ्नुभयो ।