नेपालमा कोरोना संक्रमितमध्ये ज्येष्ठ नागरिकको संख्या कम

news

प्रज्ञा तिमल्सिना (इमेज)

काठमाडौं, जेठ ९ । विश्वमा कोरोनाभाइरसबाट मृत्यु हुने र संक्रमित हुनेमा सबैभन्दा धेरै ज्येष्ठ नागरिकहरु छन् ।

विश्व स्वास्थ्य संगठनले पनि ज्येष्ठ नागरिक र दीर्घरोगीहरु बढी जोखिममा रहने बताएको छ ।

तर, नेपालमा भने संक्रमित भएकामध्ये अहिलेसम्म ज्येष्ठ नागरिकको संख्या कम देखिएको छ ।

चीनबाट फैलिएको कोरोनाभाइरसले त्यहाँ महामारीको रुप लियो । त्यहाँ सबैभन्दा धेरै ज्येष्ठ नागरिकहरुको मृत्यु भयो । अन्य मुलुकमा पनि ज्येष्ठ नागरिक बढी संक्रमित भएका छन् ।

तर, नेपालमा भने अहिलेसम्म संक्रमितमध्ये ज्येष्ठ नागरिकको संख्या कम छ । तीमध्ये काठमाडौंकी ८१ वर्षीय वृद्धा, चितवनकी ६३ वर्षीया र बागलुङकी ६५ वर्षीया महिलाले कोरोना जित्न सफल भए ।

नेपालमा संक्रमितहरुको उमेर समूह हेर्ने हो भने औसतमा १५ देखि ५० वर्षका व्यक्ति बढी छन् ।

केन्द्रीय तथ्यांक विभागकाअनुसार नेपालमा ६० वर्ष उमेरमाथिको जनसंख्या २५ लाख ९५ हजार ९०८ रहेको छ । यस्तै, ८० वर्ष उमेरमाथिका दुई लाख ४९ हजार २१६ जना व्यक्ति छन् ।

जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित संक्रमण जोखिम वर्गसामु नपुगेका कारण पनि ज्येष्ठ नागरिकमा संक्रमण नदेखिएको हुनसक्ने बताउँछन् ।

संक्रमण नदेखिएपनि यो उमेर समूह जोखिममा रहने हुँदा सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ ।

यस्तै, विश्व स्वास्थ्य संगठनकाअनुसार कोरोनाका कारण विश्वभर मृत्यु हुनेहरुको संख्यामध्ये ४६.४ प्रतिशत व्यक्ति दीर्घरोगी छन् । जसमा सबैभन्दा बढी मुटुरोगीहरु छन् ।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार नेपालमा ११ लाख ५३ हजार २५३ जना दीर्घरोग रहेका छन् । उच्च रक्तचाप, मिर्गौला, श्वासप्रश्वास र क्यान्सरका रोगीलाई दीर्घरोगी मानिएको छ ।

दीर्घ रोगीहरुमा अन्य व्यक्तिमाभन्दा रोगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता कम हुने गर्दछ ।

नेपालमा अहिले ज्येष्ठ नागरिक र दीर्घरोगीहरुमा संक्रमण कम देखिएपनि उनीहरुले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्न भने जरुरी छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...