
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ ।
नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह जनकपुर आएकै दिन मंगलबार प्रदेश सरकारले आन्दोलन रोकेको हो । मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेटघाट पनि गर्नुभएको छ । मधेस सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै सिंहले राउतसँग भेटवार्ता गर्नुभएको हो ।
महानिरीक्षक सिंह प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा सहभागी हुन जनकपुर आउनुभएको हो । सो कार्यक्रममा मधेसका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह सहभागी हुनुभएको थियो । प्रदेश प्रमुखको कार्यालय अगाडि मधेस सरकारले तीन दिनदेखि धर्ना दिँदै आएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावछि अर्को गठबन्धनको सरकारले प्रहरी समायोजन गर्ने मौखिक आश्वासनको आधारमा प्रदेश सरकारले आन्दोलन फिर्ता लिएको हो ।
निर्वाचनपछि बन्ने सरकारले प्रहरी समायोजन गर्छ भन्ने प्रधानमन्त्री देउवाले मौखिक आश्वासन दिएकाले आन्दोलन स्थगित गरेको मुख्यमन्त्री लालबाबु राउतले बताउनुभयो । प्रदेश प्रमुख हरिशंकर मिश्रले निर्वाचनपछि प्रहरी समायोजन गर्ने सरकारले आफूकहाँ प्रतिबद्धता गरेको धर्नास्थलमा भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रदेश गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको नेतृत्वमा आन्दोलन सुरु गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्