
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनमा पनि पार्टीलाई स्थानीय तह निर्वाचनकै हैसियतमा सफल बनाउने गरी लाग्न नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।
मन्त्री कार्कीले बुधबार मुलुकको ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई मुलुकको आर्थिक समृद्धिको दिशामा अग्रसर गराउने जिम्मेवारी पाउन निर्वाचनको तयारीमा जुट्नुपर्ने बताउनुभएकाे हाे । उहाँले मुलुकको स्थिरता र तीव्र आर्थिक विकासका लागि नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनको विकल्प नभएको पनि पटकपटक दोहोर्याउनुभयो ।
आगामी निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायमै रहने उल्लेख गर्दै मन्त्री कार्कीले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले हासिल गरेको सफलता प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि हासिल गर्नुपर्ने बताउनुभयो ।
पाँच वर्षपछि हुने स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेस नै विजयी हुनेगरी काम गर्न स्थानीय तहका पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई उहाँले आग्रह गर्नुभयो । उहाँले विकास निर्माण, जनताको सेवा प्रवाह र उनीहरुको गुनासो तत्काल सम्बोधन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउन पनि स्थानीय तहको सरकारले ध्यान केन्द्रित गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
स्थानीय तहमा करका दरहरु निर्धारण गर्दा सबैको सहमति लिन जरुरी रहेको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्