१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाले आजै पारित गर्ने

'जस्ताको तस्तै पास गर्ने सत्ता गठबन्धनको निर्णय'

234
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट आज बिहीबार नै पारित गर्ने तयारी भएको छ ।

संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची राखेको छ ।

प्रतिनिधि सभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारका लागि सन्देशसहित विधेयक फिर्ता भएपछि सभालाई जानकारी दिइन्छ । यस्तो जानकारी संसद सचिवालयले प्रतिनिधि सभामा सोमबार नै गराइसकेको छ । सभालाई विधेयक फिर्ताको जानकारी गराएपछि सदनमै पुनर्विचार गर्ने वा संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने दुईवटा विकल्प रहेका छन् ।

राष्ट्रपतिले पुनर्विचारका लागि नै फिर्ता पठाउने भएका कारण राष्ट्रपतिको सन्देश उपर के गर्ने भनेर सरकार र सम्बन्धित मन्त्रालयले निर्णय गर्नेछ । त्यसपछि सम्बन्धित मन्त्रीले सदनमै पुनर्विचार गर्ने वा संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने प्रस्ताव सदनमा राख्नेछन् ।

नागरिकता विधेयकका सन्दर्भमा सरकारले पहिलो बाटो रोजेको छ ।

बिहीबार गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता विधेयकमाथि सदनमै पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ । त्यसपछि सांसदहरुले आ–आफ्नो धारणा राख्नेछन् । गृहमन्त्रीले जवाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ । मन्त्रीले जवाफ दिँदा सांसदहरुले उठाएका विषय स्वीकार गर्ने वा नगर्ने भनी राख्नेछन् । स्वीकार गरेको खण्डमा विधेयकमा थपघट हुनेछ ।

सभामुखले निर्णयार्थ पेश गरेपछि विधेयक बहुमत र अल्पमतका आधारमा अगाडि बढ्नेछ ।