
काठमाडौं । राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकका सवालमा सत्तारुढ र प्रतिपक्ष दलका सांसदहरु आरोप प्रत्यारोपमा उत्रेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सो विधेयकमाथिको छलफलमा सांसदहरु आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।
सत्ता पक्षका सांसदले नागरिकता विधेयकमा राष्ट्रपतिले फिर्ता पठाएर लाखौं नागरिकलाई नागरिकता विहिन बनाएको दावी गरेका छन् । प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरुले राष्ट्रपतिले विवेक पुर्याएर फिर्ता पठाएकाले त्यसलाई सहमतिका आधारमा अघि बढ्नुपर्ने बताएका छन् ।
एमालेका सांसदहरु कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद दाहालले नागरिकतामा गम्भीर त्रुटी भएपछि फिर्ता पठाएको र यसलाई अवसरका रुपमा लिनुपर्ने बताएका छन् । उनीहरुले संसदीय प्रक्रिया र विधिपूर्वक सहमतिका आधारमा त्रुटी सच्चाउनुपर्ने भन्दै सत्तापक्षलाई बलजफ्ती नगर्न आग्रह गरे । त्यस्तै खेमप्रसाद लोहनीले नागरिकताजस्तो विषयलाई विवाहको गिफ्ट दिएजस्तो दिनु नहुने बताउनुभयो ।
यसैगरी माओवादीकी इन्दुकुमारी शर्माले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारी दलीय मान्यताभन्दा माथि उठ्न नसकेको आरोप लगाउनुभएको छ । शर्माले नागरिकतामा सधै राजनीति गरिने गरेको पनि बताउनुभयो ।
त्यस्तै सांसद गजेन्द्र महतले राष्ट्रपति कार्यालयले राति पठाएको विषय मात्रै प्रमाणीकरण गर्ने गरेको भन्दै राष्ट्रपतिको व्यंग्य गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्