
काठमाडौं । गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद् गण्डकीले प्रतियोगिताको तयारीका काम अघि बढाएका हुन् ।
खेलस्थल छनोट, खेलाडी छनोट तथा प्रशिक्षणको काम अहिले भइरहेको छ ।
राष्ट्रिय खेलकुदको तयारीका लागि राखेपबाट गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले गण्डकी प्रदेशका सबै जिल्लामा खेलकुद पूर्वाधारको निरीक्षण तथा अवलोकन गरेको छ ।
प्रतियोगिताका अधिकांश खेल पोखरामा हुने भए पनि प्रदेशका सबै ११ जिल्लामा राष्ट्रिय खेलकुदको अपनत्वका लागि कम्तीमा एक खेल खेलाउने योजना राखेपको छ ।
खेल पूर्वाधार रहेका जिल्लामा आवास, अस्पताल, यातायात र सुरक्षालाई ध्यानमा राख्दै कुन जिल्लामा कुन खेल सञ्चालन गर्ने भन्ने निर्णय भदौ १५ भित्र टुङ्गो लाग्ने खेलस्थल व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङले बताउनुभयो ।
राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धात्मक ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेल सञ्चालन गर्ने निर्णय राखेपले गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्