
चन्द्र कटुवाल
गत हप्ता हामीले ढाड तथा कम्मर दुखाईका लागि मुख्य तीन वटा आशन हरु मर्कटाशन, सल्भाशन र भुजङ्गाशनका बारेमा जानकारी दिएका थियौं । त्यसबाहेक ढाड तथा कम्मरको दुखाइमा लाभकारी मानिएका थप आशनहरु यस प्रकार रहेका छन्
१.गौमर्जराशन

गौमर्जराशन ढाड दुखाईको लागि निकै उपयोगी आशन हो । यो आशनमा दुईवटा आशन छन्, गौ अर्थात गाई र मर्जरा अर्थात बिरालो । यसमा एकपटक गाईको जस्तै गरेर ढाड सिधा बनाउँछौ भने अर्को पटक बिरालो जस्तो गरेर ढाड लचकदार बनाउँछौ ।
विधि : सबैभन्दा पहिले दुबैहातको हत्केला टेक्ने । त्यसपछि दुबै घुँडालाई भुईमा टेकाउँने । दुईहात र दुई पाउ गरेर चौपाया जनावर गाई जस्तै बन्ने । शिरलाई माथि तर्फ हेर्ने । जब शिरलाई माथितिर हेरिन्छ तब ढाड सिधा हुन्छ । यो गौ आशन भयो । त्यसपछि माथिको टाउकोलाई बिस्तारै दुबै हातको बीचमा राखेर नाभिमा हेर्न खोज्ने,यस्तो गर्दा ढाडलाई माथि उचाल्ने । फेरि तल झार्ने । यसरी टाउको माथि र ढाड सिधा गर्दा गौ र ढाड माथि टाउको तल गर्दा मर्जरा हुन्छ । यसलाई आफ्नो आबश्यकता अनुसार दोहोर्याउन सकिन्छ । साधारण तया ४ पटक भन्दा बढी अभ्यास गर्नु उत्तम मानिन्छ ।
सावधानी : ढाडमा चोटपटक लागेको, भर्खरै सर्जरी गरेको, घाँटीमा समस्या भएको साथै घुडा र हातमा चोटपटक भएका व्यक्रिले यो आशन गर्दा सावधानी अपनाउनु पर्दछ वा गर्न हुँदैन।
यो आशनका फाईदाहरु : यो आशनले शरीरमा लचकता पैदा गर्दछ । ढाडलाई लचिलो बनाई दुखाई कम गर्दछ । ढाड तथा गर्धनलाई तन्काउछ । हात पाखुराको मसल बलियो बनाउछ । निन्द्रा लाग्न मद्दत गर्दछ र शरीर फुर्तिलो बनाउँछ ।
२.सेतुबन्धाशन

सेतु भनेको पुल हो । यो आशन ढाड तथा कम्मरको लागि धेरै उपयोगी रहेको छ ।
विधि : यो आशनको लागि सबैभन्दा पहिले ढाडको बलले म्याटमा सुत्ने । बिस्तारै खुट्टालाई हिप नजिक ल्याउने । त्यसपछि कम्मरलाई माथि उठाउने । पहिले हातको सहयोगले अर्थात हातको खम्बा बनाएर पनि ढाडलाई माथि रोक्ने । बिस्तारै अभ्यास भएपछि ढाडलाई माथि रोक्ने र दुबैहातले खुट्टाको गोलीगाँठो तर्फ लैजाने सकेसम्म समाउन कोशिस गर्ने । र बिस्तारै ढाडलाई भुईंमा राख्ने र फेरी माथि उचाल्ने । यसलाई ॐ मन्त्रसँग पनि गर्न सकिन्छ । ढाड माथि लिदा गहिरो लामो श्वास लिने र तल झार्दा ॐ उच्चारण गर्ने । यसलाई कम्तिमा पनि तिन पटक गर्ने ।
सावधानी : माईग्रेनको अत्यधिक समस्या भएकाले यो आशन गर्नु हुँदैन । पेटमा समस्या हुनेले पनि यो आशन गर्नु हुँदैन। गर्धन तथा पाखुरामा समस्या भएकाले गर्नु हुँदैन ।
यो आशनका फाईदाहरुः ढाडलाई लचिलो बनाउँछ ।छातीलाई बलियो पार्दछ । फोक्सो बलियो पार्छ । पाचन प्रणालीलाई बलियो पार्छ । थकान, चिन्ता, तनावहरुलाई घटाउँछ । दमरोगीको लागि उपयोगी हुन्छ ।
३.मत्स्याशन

यो आशन माछाको जस्तै आकार बनेर गरिने भएकाले यसलाई मत्स्याशन भनिएको हो ।
विधि:यो आशन गर्दा सर्वप्रथम उत्तानो परेर सुत्ने । त्यसपछि दुबै गोडालाई जोड्ने । बिस्तारै दबै कुहिनाको बलले ढाडलाई माथि तर्फ उठाउने । शिरलाई अलि माथि उठाएर टेकाउने । यतिखेर शिरमा र कुहिनामा बल पर्दछ भने ढाड केहि माथि उठेको हुन्छ । यदि सुरु सुरुमा अभ्यास गर्न अप्ठ्यारो भएमा ढाडमा सिरानी राखेर पनि गर्न सकिन्छ ।
सावधानीः अत्यधिक गर्धन तथा ढाडमा घाउ तथा चोटपटक भएका व्यक्तिले यो आशन गर्न हुँदैन । उच्च तथा निम्न रक्तचाप भएकाहरुले र माईग्रेनका समस्या भएका बिरामीले यो आशन गर्नु हुँदैन।
यो आशनका फाईदाहरु : ढाडलाई तन्काउछ । तनाव र चिन्तालाई घटाउँछ । महिनावारी गढबढीमा लाभकारी हुन्छ । माथिल्लो ढाड तथा गर्धनलाई बलियो पार्दछ । दम तथा स्वास प्रश्वास सम्बन्धी रोगहरुमा उपचारको काम गर्दछ ।
अन्त्यमा शवासनमा जाने र गहिरो लामो स्वास लिने र छोड्ने तथा सम्पूर्ण शरीरलाई शिथिल छोडिदिने । तीनपटक ॐ को उच्चारण गर्ने । ॐ को तरङ्गलाई महसुस गर्ने । जुनसुकै आशन पछि शवाशन गर्नु पर्दछ । यसका धेरै फाईदाहरु रहेका छन । एकातर्फ यसले शरीरलाई आराम प्रदान गर्दछ भने यसैमा योगनिद्रा पनि गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्