१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उपत्यकाका महिला तीजका लागि सामाग्री किनमेलमा व्यस्त


117
Shares

सन्दीप श्रेष्ठ

काठमाडौं । तीज नजिकिंदै गर्दा काठमाडौंको व्यापारिक स्थल असन आसपासको क्षेत्रमा भीडभाड बढेको छ ।

कोरोना संक्रमणका कारण दुई वर्षदेखि तीज मान्न नपाएका उपत्यकाबासी महिला यतिबेला किनमेलमा व्यस्त भएका छन् । लुगाकपडा, श्रृंगारदेखि सौभाग्य सामाग्री पसलमा उपभोक्ताको बाक्लो उपस्थिति देखिएकाे छ । व्यापार बढेपछि व्यापारी मख्ख भएका छन् ।

कोभिड संक्रमण बढेपछि लकडाउनले दुई वर्ष तीजको रौंनक प्रभावित भयो । बजार पुरै ठप्प रह्यो । यसपल्ट भने महिला जमेर तीज मनाउने सुरसारमा छन् । सामाजिक सञ्जालको प्रभाव कतिसम्म परेको छ भने बजारमा किन्न आउने उपभोक्ता आफैं डिजाइन देखाएर श्रृंगार सामाग्री बनाइदिन आग्रह गर्छन । उपभोक्ता समयाअनुकूल परिर्वतनको सापेक्षमा चीज वस्तुको खोजी गर्छन ।

अघिल्ला वर्षहरूमा खुम्चिएको बजार यतिबेला विस्तार भएको छ । बजारका हरेक सर्टरमा भीडभाड छ । खास गरी लुगाकपडा, श्रृंगार सामाग्री, जुत्ताचप्पल, गरगहनाका पसलमा उपभोक्ता बढेको देखिन्छ । तीजको राम्रो लाउने, मीठो खाने परम्पराअनुसार किनमेलमा आउँदा बजार मूल्य आकासिएको देख्दा भने उनीहरू आश्चर्यचकित परेका छन् ।

एकातिर तीज देखासिकीको खर्चालु पर्व भनेर आलोचना भइरहँदा यसले पूँजीबजारलाई चलायमान बनाएको सत्य बिर्सन हुँदैन। राम्रो लाउने, मीठो खाने नाममा नै किन नहोस् , बजारमा पैसा आएको छ । गीतसंगीत मात्र होइन, पार्टी प्यालेस उद्योगले रोजगारी पाएको छ ।

यस अर्थमा पनि चाडपर्वलाई सांस्कृतिकसँगै आर्थिक उपलब्धिको पाटोसँग जोडेर हेर्न जरुरी छ ।