
काठमाडौं । सोमालियाको राजधानी मोगादिसुको एउटा होटलमा आतंककारीको आक्रमणमा १० जनाको ज्यान गएको छ ।
शुक्रबार राति आतंककारी समूह अल–शबाबको आक्रमणमा केही घाइते भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।प्रहरीअनुसार आक्रमणकारीले भवनभित्र पसेर गोली चलाउनुअघि होटल बाहिर दुईवटा बम विस्फोट गराएका थिए । प्रहरीको विशेष टोलीले दर्जनौं पाहुना र कर्मचारीको होटलबाट उद्धार गरेको बताइएको छ ।
उक्त होटल संघीय सरकारका कर्मचारीको भेटघाटलाई लोकप्रिय स्थानको रूपमा चिनिन्छ । सामाजिक सञ्जालमा भाइरल भइरहेका अप्रमाणित तस्बिरमा होटेलबाट धुवाँ निस्किरहेको देखाइएको छ ।
होटल हायातलाई लक्षित गरी दुईवटा कार बम विष्फोट गराइएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अल–कायदाको सहयोगी, अल–शबाब संघीय सरकारसँग लामो समयदेखि चलिरहेको द्वन्द्वमा संलग्न छ । यो समूहले धेरैजसो दक्षिणी र मध्य सोमालियालाई नियन्त्रणमा लिएको छ । तर मोगादिसुमा रहेको सरकारद्वारा नियन्त्रित क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न सक्षम भएको छ ।
हालैका हप्ताहरूमा समूहसँग सम्बद्ध लडाकुहरूले सोमालिया–इथियोपिया सीमामा रहेका लक्ष्यलाई पनि आक्रमण गरेका छन् । जसका कारण अल–शबाबद्वारा सम्भावित नयाँ रणनीतिको बारेमा चिन्ता बढाएको अधिकारीहरुले जनाएका छन् ।
सोमालियाका नयाँ राष्ट्रपति हसन शेख मोहमुद मे महिनामा निर्वाचित भएपछि शुक्रबारको आक्रमण राजधानीमा भएको पहिलो आक्रमण हो ।
प्रतिक्रिया दिनुहोस्