११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता


0
Shares

बैतडी, भदौ २ । बैतडीको दोगडाकेदार गाउँपालिकाले चालू आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक रु दुई हजार भत्ता दिने भएको छ ।

टुहुरा बालबालिकालाई पढाइमा आर्थिक अभाव नहोस् भनेर मासिक रु दुई हजार भत्ता दिन लागिएकोे गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।

उनले भनिन्–‘टुहुरा बालबालिकाले आमाबुबा गुमाएको महसुस नगरुन् र उनीहरुको पढाइमा कुनैपनि किसिमको समस्या नहोस् भनेर भत्ता दिन लागेका हौं ।’

टुहुरा बालबालिकालाई दिइने भत्ताले बालबिवाह न्यूनीकरणमासमेत टेवा पुग्ने उपाध्यक्ष कार्कीले बताइन् ।

गाउँपालिकाले टुहुरा बालबालिकाको तथ्यांक संकलन गरिरहेको जनाएको छ ।

१८ वर्षमुनिका आमाबुबा गुमाएका टुहुरा बालबालिकालाई भत्ता दिनका लागि तथ्यांक संकलन गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा रहेका सबै ८ ओटै वडाका वडाध्यक्षलाई टुहुरा बालबालिकाको तथ्यांक संकलन गर्न गाउँपालिकाले निर्देशन दिइसकेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।

टुहुरा बालबालिकाको भत्ताका लागि गाउँपालिकाले महिला तथा बालबालिकाको रकमबाट रु दुई लाख ४० हजार रकम छुट्याएको जनाएको छ । रासस