
एजेन्सी । बलिउड अभिनेत्री जिया खान आत्महत्या प्रकरण पछिल्लो समय फेरी चर्चामा आएको छ ।
यस मामिलामा अदालतले जियाकी आमा राबिया खानको २२ अगस्टमा फेरि बयान लिनेछ। केही दिन अगाडि पनि अदालतले जियाको आमालाई बयानका लागि बोलाएको थियो । उनले अदालतमा सुरज पञ्चोलीले आफ्नी छोरी जियालाई मानसिक र शारीरिक यातना दिने गरेको बताएकी थिइन् । यससँगै केन्द्रीय फोरेन्सिक विज्ञान प्रयोगशालाका क्लिनिकल मनोवैज्ञानिकले अदालतमा सुरजबारे नयाँ खुलासा गरेका छन् ।
मनोवैज्ञानिकले अदालतमा सुरजले दिएको बयान अपूर्ण र मनगढन्ते भएको बताएका छन् । पूरै बयानमा उनले मुद्दासँग सम्बन्धित महत्वपूर्ण कुरा लुकाएका थिए । सुरजले टाउको निहुराएर हरेक प्रश्नको जवाफ दिनुको सट्टा ढिलाइ गरिरहेका थिए । सुरजले जियासँगको पछिल्लो कुराकानीको बारेमा पनि बताएनन् र उनी अरू केही भन्न पनि तयार भएनन् ।
जियाले जुन ३, २०१३ मा आफ्नो जुहू अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । उनको मृत्यु भएको केही दिनपछि जियाका प्रेमी सूरजको नाममा उनको घरबाट ६ पृष्ठको सुसाइड नोट फेला परेको थियो । उक्त नोटले सुरजसँग जियाको बिग्रँदै गएको सम्बन्धका बारेका खुलासा भएको थियो।
त्यसपछि जियाकी आमाले सुरजविरुद्ध मुद्दा दायर गर्दै सुरजले जियालाई आत्महत्या गर्न बाध्य पारेको आरोप लगाएकी थिइन् । यस विषयमा सीबीआईले अनुसन्धान गरिरहेको छ ।
जियाको आत्महत्या प्रकरणमा पक्राउ परेका सुरज धरौटीमा छुटेका हुन् । सुरज र जियाको भेट सन् २०१२ मा सामाजिक सञ्जालमार्फत भएको थियो । जियाको मृत्यु के कारणले भएको हो अझै खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्