
पोखरा । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि संघीय सरकारले आवश्यक बजेट निकासा गरिसकेको बताउनुभएको छ ।
नवौं राष्ट्रिय खेलकुदको सचिवालयको आज पोखरामा उद्घाटन गर्दै मन्त्री गहतराजले प्रतियोगिता सम्पन्न गर्न तीनै तहको सरकारको साझा दायित्व रहेको बताउनुभयो । उहाँले प्रतियोगिताको लागि आवश्यक प्राविधिकहरुको यकिन गरेर करारमा खटाउने तयारी समेत रहेको बताउनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो प्रदेशमा आयोजना हुने प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेश सरकारले पनि सहयोग गर्ने बताउनुभयो । उहाँले खेलुकद प्रतियोगिता सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त व्यक्त गर्नुभयो ।
प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने भएको छ । प्रतियोगिताका ३८ मध्ये २२ खेल पोखरामा गर्न प्रस्ताव गरिएको छ । बाँकी १६ खेल गण्डकी प्रदेशका अन्य १० जिल्लामा सञ्चालन गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्