
जनकपुरधाम, भदौ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबैभन्दा बढी विकास प्रदेश नम्बर–२ मा नै हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार प्रदेश नम्बर–२ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा यस प्रदेशमा समृद्धिका हरेक उपायहरुलाई अवलम्बन गर्ने बताए ।
उनले यस प्रदेशमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेलवे, फास्टट्रयाक निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्वविद्यालयको स्थापना, सिँचाइका पूर्वाधारहरुको विकास, कलकारखानाको स्थापना, जनता आवास योजना, तराईमा प्रत्येक वर्ष हुने आगोलागीबाट बचाउनका लागि टिनको छाना निर्माणलगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले युवालाई वैदेशिक रोजगारीमा जान रोक्नका लागि आवश्यक रोजगारीका अवसर सिर्जना गरिने बताउँदै प्रदेश नम्बर–२ अन्य प्रदेशको तुलनामा सम्भावना बोकेको प्रदेश भएको हुँदा परिवर्तन ल्याउनका लागि अब विलम्ब गर्न नहुने बताए ।
उनले प्रदेश नम्बर–२ ले कुल जीडीपीको १६.२ प्रतिशत योगदानमात्र पुर्याइरहेकामा यो प्रतिशत बढाउन उचित सिँचाइ र कृषिको आधुनिकिकरण गरिनुपर्ने बताए ।
उनले तराई–मधेसमा चुरे संरक्षण गर्न नसकेका कारण यहाँका उर्वरभूमि मरुभूमिकरणतर्फ उन्मुख भएको हुँदा यसलाई रोक्नुपर्ने आवश्यत्ता औंल्याए ।
उनले तराई–मधेस भएर बग्ने ठूल्ठूला नदीजस्तै कोसी–कमला डाइभर्सनलगायतका सिँचाइका आयोजना कार्यान्वयनतर्फ अग्रसर हुन आवश्यक रहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने–‘मधेसको उर्वरभूमिको सही सदुपयोग गर्न सक्नुपर्दछ । सहकारिताको माध्यमबाट यहाँ उत्पादन हुने अन्न, फलफूल विदेश निर्यात गर्न सक्नुपर्दछ ।’
उनले सहरी विकास मन्त्रालयले ७० प्रतिशत बजेट तराई–मधेसका लागि छुट्याएको जानकारी दिँदै पाँच वर्षभित्र हुलाकी सडक निर्माण सम्पन्न हुने बताए ।
प्रधानमन्त्री ओलीले भने–‘रेलगाडी, कोलकाता बन्दरगाह जाने पानीजहाज सबै यही प्रदेश भएर कुद्नेछ ।’
उनले नेपालको झन्डा फरफराएर हिँडेको पानीजहाज समुद्रमा कुदेको नेपाली जनताले देख्ने बताए ।
प्रधानमन्त्री ओलीले जनता आवास योजनाअन्तर्गत् प्रदेश नम्बर–२ का ८ जिल्लामा एक/एक हजारको दरले ८ हजार घर निर्माण गरिने र आगोलागीबाट जोगाउनका लागि खरको छाना हटाएर टिनको छाना लगाउने योजना रहेको जानकारी दिए ।
उनले जनकपुरधामस्थित मणिमन्डपमा उत्खनन्बाट भेटिएको पौराणिक वस्तुलाई दृष्टिगत गर्दै यसको संरक्षण तथा सम्बद्र्धन गर्नका लागि मणिमन्डप निर्माण गर्नका लागि सरकारले बजेटको व्यवस्था गरेको जानकारी दिए ।
उनले यस प्रदेशमा एक विश्वविद्यालयको स्थापना तथा राजविराजमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नाममा एक मेडिकल कलेजको स्थापना गर्ने सोच रहेको बताए ।
प्रधानमन्त्री ओलीले जनकपुर प्राचीनकालदेखि नै बौद्धिक वर्गको क्षेत्र रहेको बताउँदै अहिले यस क्षेत्रमा देखिएको दाइजो, बोक्सीको नाममा महिलामाथि हुने हिंसा देखेर आफ्नो मन दुखेको बताए ।
उनले अन्धविश्वास, असभ्यता र अमानवियताकोविरुद्ध आफैंले आफैंलाई सच्याउनुपर्ने आवश्यकतामा जोड दिँदै विभेदकारी मानसिकताको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरे ।
यस प्रदेशमा धार्मिक पर्यटनको सम्भावनालाई मध्यनजर गर्दै जलेश्वर, सिम्रोनगढ, जनकपुर, धनुषाधाम, सखडाभगवतीलगायतका धार्मिकस्थललाई विकास गर्ने सोच सरकारको रहेको प्रधानमन्त्री ओलीले जनाए ।
प्रधानमन्त्री ओलीले आफूले भारतीयमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र मुक्तिनाथको दर्शन गराएपछि यस क्षेत्रमा पर्यटकको उल्लेख्य वृद्धि भएको चर्चा गरे ।
प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम तथा उत्तर–दक्षिण रेलवे निर्माण जसरी पनि गर्ने आफ्नो इच्छा रहेको बताउँदै यसका लागि दुवै छिमेकी राष्ट्रसँग सकारात्मकरुपले संवाद भइरहेको बताए ।
उनले रेलवे सन्चालनपछि यहाँका उत्पादनलाई अन्य देशमा निर्यात गर्न र अन्यत्रबाट मालसामान आयात गर्न पनि सहज हुने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले संघीय सरकार कुनै किसिमले पनि विभेदकारी नरहेको बताउँदै प्रदेश सरकारले योजना बनाएर दिए कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले राजनीतिलाई हारजित हैन, यसलाई राष्ट्र निर्माणको एउटा माध्यम बनाउनुपर्ने धारणा व्यक्त गरे ।
उनले विभिन्न राजनीतिक दलमा भएको विविधतालाई कलहको विषय बनाउन नहुने भन्दै आफू ‘सप्तरीको जनतालाई आफ्ना कुरा भन्न गएको र उक्त कुरा बताएर फर्कंदा राजमार्गमा पुगिसकेपछि मलेठमा गोली चलेको थाहा पाएँ, त्यो गोली किन चल्यो ? कसरी चल्यो ? कसले चलायो ? आफूलाई केही थाहा नभएको’ उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने–‘कसै–कसैले हल्ला चलाएका छन्, संविधान संशोधन हुँँदैन । त्यसमा कुनै सत्यता छैन ।’
उनले समय, जनताको भावना र आवश्यकताअनुसार संविधान संशोधन हुने बताउँदै यस्ता आफवाह र हल्लाको पछि नलाग्न अनुरोध गरे ।
उनले भने–‘संविधान गतिशील छ । यो आवश्यकताअनुसार संशोधन हुन्छ ।’
प्रधानमन्त्री ओलीले जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानले वंशजको नागरिकता पाउने बताउँदै यसका लागि चाँडै नै नियम लागू हुने जानकारी दिए ।
उनले बाबु वा आमामध्ये एकजना कसैको नेपाली नागरिकता भए उसका सन्तानले नागरिकता पाउने कानुनी व्यवस्था भइरहेकोसमेत जानकारी दिए ।
उनले लोकतन्त्र सबैभन्दा राम्रो शासन पद्दति भएको बताउँदै जनताले दिएको विश्वास र अभिभारालाई जनप्रतिनिधिले कायम राख्न सक्नुपर्ने बताए ।
उनले भने–‘जनताको विश्वासलाई धोका दिनुहुँदैन । लोकतन्त्र भनेको विधिको शासन हो भन्ने कुरालाई सार्थक बनाउनेकार्य जनप्रतिनिधिबाट हुनुपर्दछ ।’
प्रधानमन्त्री ओलीले अहिले दुवै छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्ध उत्तिकै राम्रो रहेको बताउँदै ‘समृद्ध नेपाल सुखी नेपाल’ भन्ने हाम्रो अभियानलाई सार्थक बनाउन सबैतिरबाट सहयोग गर्न तयार रहेको जानकारी दिए ।
उनले विभिन्न क्षेत्रमा भारतले बाँधेको बाँध र त्यसबाट उत्पन्न डुबानको समस्याकाबारेमा भारतीय प्रधानमन्त्रीसँग खुलस्तरुपमा कुरा गरेको र भारतीय प्रधानमन्त्री मोदी समस्या समाधानका लागि सकारात्मक रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने–‘भारत नेपालको साझा समस्यालाई पारस्परिकरुपमा समाधान गरिनुपर्दछ । भारत यसको लागि सकारात्मक छ ।’
प्रदेश सभामुख सरोज यादवको अध्यक्षतामा भएको प्रदेश–२ को प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले १ घन्टा ३८ मिनेटको समय लिएर सम्बोधन गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्