
काठमाडौं । फिल्म ‘प्रकाश’ को जुम्लाको तिर्खु गाउँमा अवस्थित ऋण मोक्ष माध्यमिक विद्यालयमा आइतवार साँझ विश्व प्रिमियर गरिएको छ ।
भदौ १० गते देशव्यापी प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘प्रकाश’ले छायांकन थलोमै प्रिमियर गरेको हो । यसरी जुम्लामा फिल्मको विश्व प्रिमियर गरिएको पहिलो पटक हो । प्रिमियरमा सहभागी हुन काठमाडौंबाट जुम्ला पुगेका फिल्मका अभिनेता प्रदीप खड्का र लेखक विकास सुवेदीलाई स्थानीयहरूले भव्य स्वागत गरे ।

प्रिमियरमा स्थानीयवासी, बुद्धिजीवी, राजनीतिक दलका नेता लगायतको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियरमा अधिकांशले फिल्म मन परेको प्रतिक्रिया दिएका छन् । ४५ दिनसम्म तिर्खु गाँउमा फिल्मको छायांकन भएको थियो । सिनेमा हल नभएकाले उक्त गाँउमा प्रोजेक्टरबाट फिल्म देखाइएको थियो । त्यस ठाउँमा बिजुलीको समेत सुविधा नभएका कारण निर्माण टिमले स्थानीयहरूलाई फिल्म देखाउन जेनेरेटर समेत आफैंले लिएर गएका थिए ।
निर्देशक दिनेश राउतले निर्देशन गरेको उक्त फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा प्रदीप खड्कासँगै दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, ताराप्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ । सरकारी स्कुलको जागिर खानका लागि एक युवाले गर्ने संघर्षलाई फिल्मको कथाका रूपमा प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्