१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जनकपुर–जयनगर रेल सञ्चालनसंगै बढ्दै धार्मिक पर्यटक


364
Shares

काठमाडौं । जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुहरुलाई सहज भएको छ ।

नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक पर्यटकका साथै अन्य पर्यटकहरुलाई पनि आवतजावतका लागि सहज बनेको हो । वि.सं २०७८ चैत्र १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा सीमापार रेल सेवाको शुभारम्भ गर्नुभएको थियो ।

सन् २०७१ देखि रेल मार्ग स्तरोन्नति गर्ने हेतुले भारतले रेल सेवा पूर्ण बन्द गरेको थियो । गत चैत्रबाट रेल सेवा पुनः सञ्चालनमा आएसँगै पशुपतिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकहरुलाई सहज भएको छ । रेल सञ्चालनमा आएसँगै भारत र नेपालबीच जनकपुर हुँदै भारत जाने र आउनेहरुका लागि यातायातको सेवा व्यवस्थित बनेको यात्रुहरु बताउँछन् ।

दिनमा दुईपटक मात्रै चल्ने भएकोले केही समस्या भएको र अब यो संख्यालाई बढाउनुपर्नेमा पनि उनीहरुले सुझाएका छन् । रेल चल्दा समयका साथसाथै पैसाको पनि वचत भएको यात्रु बताउँछन् । रेलमा बसमा भन्दा धेरै सुविधा हुने र परिवारसहित यात्रा गर्दा रेल नै उपयुक्त हुने केहीको भनाइ छ ।

यस्तै टिकट विक्रेता सन्तुकुमार यादवले यात्रुहरुको चाप बढीरहेको बताउनु भयो । उहाँले रेलहरु अझै थपेर दिनमा जतिसक्दो धेरैपटक रेल सञ्चालन गर्दा अहिलेको चापलाई धान्न सकिने बताउनु भयो । उहाँले भारतबाट आउने यात्रु लगभग ४५ प्रतिशत हाराहारीमा रहेको र अन्य यात्रु भने स्थानीय रहेको बताउनु भयो । उहाँले यात्रुहरुले पनि दिनमा तीनदेखि चार पटक रेल ओहोरदोहोर गरेमा सहज हुने प्रतिक्रिया दिइरहेको बताउनु भयो ।

रेल चलाउने गरी सरकारले ८ चैत २०७८ मा तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेको थियो । भारतले नेपालतर्फको खण्डलाई ब्रोडगेजमा बिस्तार गरेर स्पिड टेस्ट गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको थियो । जनकपुर–जयनगर रेलमार्ग ३४ किलोमिटरको रहेको छ ।