११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


राजपाका सांसदद्वारा प्रधानमन्त्री ओलीको सम्बोधन बहिस्कार


0
Shares

नवीन सिंह (इमेज)

जनकपुर, भदौ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर–२ को प्रदेशसभालाई शनिबार सम्बोधन गर्नेक्रममा राजपा नेपालका केही सांसदले सम्बोधन बहिस्कार गरे । केही सांसद उपस्थित नै भएनन् ।

प्रधानमन्त्री ओली मधेसमैत्री नभएको आरोप लगाउँदै उनीहरु सम्बोधनकैक्रममा बैठकबाट बाहिरिएका हुन् ।

राजपाका प्रदेश सांसद उपेन्द्र महतो, विशेश्वरप्रसाद यादव र गौरीनारायण साहले बैठक बहिस्कार गरेका हुन् ।

राजपाका एक दर्जनभन्दा बढी सांसद भने प्रदेशसभा बैठकमै उपस्थित भएनन् ।

यसअघि, शनिबारै प्रधानमन्त्री ओली जनकपुर विमानस्थलमा पुग्दा राजपाबाट मन्त्री बनेका जितेन्द्र सोनलबाहेक अरु मन्त्री अनुपस्थित रहे ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न प्रदेशका सबै मन्त्रीहरु विमानस्थल जाने प्रदेश मुख्यमन्त्री लालबाबु राउतको आग्रहविपरीत राजपा नेपालबाट प्रदेश नम्बर–२ मा प्रतिनिधित्व गर्ने दुई मन्त्री र तीन राज्यमन्त्री अनुपस्थित रहेका हुन् ।

यस्तै, प्रधानमन्त्री ओलीलाई जनकपुर विमानस्थलमा कालोभन्डा देखाउनेमध्ये ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सरोज मिश्रा, जानी खान, प्रशान्त झा, सञ्जय यादव, कमलेश यादव र पंकज साह रहेका छन् ।