२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


बहिरा आवासीय विद्यालयलाई चरम आर्थिक संकट


0
Shares

राजन राई/ईमेज:

भोजपुर, असार ३ । भोजपुरमा बहिरा आवासीय विद्यालय स्थापना भएपछि कान नसुन्ने बालबालिकाले पढ्ने अवसर पाएका छन् ।

तर, आवासीय रुपमा सञ्चालन भइरहेको विद्यालयमा आर्थिक अभावका कारण खाद्यान्नलगायतका सामग्री जोहो गर्न भने समस्या भइरहेको छ ।

वषौँदेखि अध्ययनको अवसरबाट वञ्चित कान नसुन्ने बालबालिकालाई अध्ययनका लागि भोजपुरमा व्यवस्था गरिएको छ ।

नेपाल बहिरा संघ जिल्ला शाखा भोजपुरको पहलमा भोजपुर सदरमुकाममा बहिरा आवासीय विद्यालय खुलेसँगै कान नसुन्ने बालबालिका उत्साहित भएका छन् ।

यही शैक्षिक सत्रबाट सुरु गरिएको विद्यालयमा हाल ५ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

संकेतका माध्यमबाट पढाइ हुने यो विद्यालयमा  १ शिक्षक र १ सहयोगीसहित ७ जनालाई आवास  र खाना खाने व्यवस्था उपलब्ध गराइएको त छ तर विद्यालयलाई खर्च धान्न भने धौधौ भइरहेको छ ।

आर्थिक अभावका कारण ७ जनालाई असार मसान्तसम्म खाद्यान्न लगायतका उपभोग्य सामग्री अभाव हुने बहिरा संघका अध्यक्ष सीताराम ओझा बताउँछन् ।

हाल यो विद्यालय  भोजपुर नगरपालिका र जिल्ला शिक्षा समन्वय समितिको आर्थिक सहयोगमा  सञ्चालनमा रहेको छ ।

अध्ययनरत विद्यार्थीका लागि आगामी बजेटमा खाने बस्ने व्यवस्थाका लागि नगपालिकाले बजेट विनियोजन गर्ने आश्वासन दिएको छ तर बजेट विनियोजन नहुनेबेलासम्म खाद्यान्नको अभाव रहेको संघले जनाएको छ ।

समस्याको बारेमा सरोकारवालासँग छलफल गरी समाधान गर्ने र यस विद्यालयलाई दीर्घकालीन रुपमा सञ्चालनका गर्न आफ्नो तफबाट पहल गर्ने सांसद सुदन किराँतीको भनाइ छ ।

आधारभूत आवश्यकताको रुपमा स्वीकार गरिएको शिक्षाबाट जोकोही पनि वञ्चित हुनु राम्रो होइन । बहिरा संघ भोजपुरले गरेको यो कदम निकै सराहनीय छ । 

 

जिल्लामा यस्ता विद्यार्थीको संख्या धेरै रहेपनि अभिभावकलाई जानकारी नहुँदा र कतिपयले चासो नदिँदा विद्यालयको पहुँच बाहिर रहेको जिल्ला वहिरा संघले जनाएको छ ।

 

कान नसुन्ने बालबालिकालाई मध्यनजर गरी संचालन गरिएको यस विद्यालयलाई दीर्घकालीन रुपमा चलाउनको लागि सबैको सहयोग अपरिहर्य छ ।