१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युरोपका नदीहरुमा डुबेका जहाज जलसहतमाथि देखिन थाले


15.925k
Shares

काठमाडौं । युरोपका नदी तथा तालहरुमा जलस्तर घट्दा यसअघि डुबेका युद्धपोत, बस्ती, चर्च, बगैचा र अन्य पुरातात्विक महत्वका सम्पदाहरु जलसहत भन्दा माथि देखिन थालेका छन् ।

महादेशको सबै भन्दा ठूलो मध्येको एक डेन्युब नदीमा पानीको स्तर एक शताब्दी यताकै तल झरेको हो । नदीको सर्बिया खण्डमा दोस्रो विश्व युद्धमा डुबेको युद्धपोत देखिन थालेको छ । तटीय शहर प्राहोभो नजिक दोस्रो विश्व युद्धको क्रममा डुबेका दर्जनौं विस्फोटक पदार्थसहितको जर्मन युद्धपोतहरू बाहिर देखिन थालेको हो ।

दोस्रो विश्व युद्धको अन्त्यतिर सोभियत सेनाले लखेट्न थालेपछि भाग्नेक्रममा कृष्ण सागरमा तैनाथ कैयौं पानीजहाज डेन्युब नदीमा डुबेका थिए । यस वर्षको खडेरीले पूर्वी सर्बियाको प्राहोभो नजिक २० भन्दा बढी जहाजहरू देखिन थालेका छन् ।सर्बियामा अधिकारीहरुले डेन्युबमा नदीको आवागमन खुला राख्न नदीलाई ठाउँ-ठाउँमा गहिरो बनाइरहेका छन् ।

प्राहोभो नजिक भने दोस्रो विश्व युद्धकालिन जहाजहरुले डेन्युबको यस हिस्साको आवगमन क्षेत्रलाई जम्मा १०० देखि १८० मिटरमा खुम्च्याई दिएको छ । मार्चमा, सर्बियाली सरकारले जहाजका भागहरु हटाउन र त्यसमा रहेका गोला बारुद तथा विस्फोटक पदार्थ हटाउन टेन्डर आह्वान गरेको थियो ।

सर्बियासँगै इटाली, फ्रान्स, पोर्चुगल, बेलायत र स्पेनमा पनि नदी तथा तालहरुमा जलस्तर घट्दा युद्धपोत, बस्ती, चर्च, बगैचा र अन्य पुरातात्विक महत्वका सम्पदाहरु देखिन थालेका छन् ।