२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मलेसियाका पूर्वप्रधानमन्त्री रजाक भ्रष्टाचार अभियोगमा १२ वर्षका लागि जेल चलान


143
Shares

काठमाडौं । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारको अभियोगमा जेल चलान हुनुभएको छ ।

रजाकले गरेको अपिल मंगलबार त्यहाँको सर्वोच्च अदालतले खारेज गरेसँगै रजाक १२ वर्ष कैद भुक्तान गर्न जेल चलान हुनुभएको हो । ६९ वर्षीय रजाकलाई सरकारी स्वामित्वमा रहेको सम्पत्ति कोषमा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गरिएको हो ।

सन् २०२० को जुलाईमा अदालतले दोषी ठहर गरिएपनि रजाकको माथिल्लो अदालतमा अपिल दर्ता गरी जमानतमा रिहा हुनु भएको थियो । आफ्नो सजाय कार्यान्वयनमा ढिलाई गर्न रजाकले गरेको अन्तिम अनुरोध पनि अदालतले अस्वीकार गरेको छ। उहाँले अहिलेसम्म पनि आफूले कुनै गलत काम नगरेको अडान दोहोर्याउँदै आउनुभएको छ ।

मलेसिया सरकारको महत्वाकांक्षी परियोजना ‘वान एम.डी.बी.’ कोषको ९४ लाख अमेरिकी डलर अपचलन गरेको कसुरमा अदालतले उहाँलाई जेल सजाय सुनाएको थियो । रजाकले भने उक्त रकम आफूलाई साउदी राज परिवारबाट दान आएको भन्दै राज्यकोष अपचलनमा आफू निर्दोष रहेको जिकिर गर्दै आउनुभएको थियाे ।