
काठमाडौं । दुई दिनको करेक्सन पछि हिजो नगन्य अंकले हरियो रहेको बजार परिसूचक नेप्से आज पनि उतार चढावबीच करिब ३ अंकले सकारात्मक रहेर २ हजार ५७ कायम भयो । सुरुवाती समयमा उकालो लागेर नेप्से २ हजार ७० सम्म पुगेपनि बृद्धि कायम हुन सकेन ।
कारोबार पनि हिजोको तुलनामा सामान्य वृद्धि भएपनि डेढ अर्ब हाराहारीबाट माथि उठ्न सकेन । यसले लगानीकर्ता खासै उत्साहित हुन नसकेको देखिएको छ । यस दिन पनि समूहगत उतार चढाव मिश्रित रह्यो । ७ वटा समूह हरियो रहँदा ६ वटा रातो रहे । जीवन बीमा समूह सबैभन्दा उच्च ६३ अंकले उकालो लाग्दा जलविद्युत, लघुवित्त, होटल तथा पर्यटन, विकास बैंक, वाणिज्य बैंक र लगानी समूह सकारात्मक रहे । बाँकी समूह सामान्य अंकले ऋणात्मक रहे ।
नेपाल स्टक एक्सचेन्जमा २ सय २३ कम्पनीको करिब ३७ लाख कित्ता शेयर जम्मा १ अर्ब ५२ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय १ कम्पनीको मूल्य बढ्दा ७३ कम्पनीको मूल्य घट्यो । यस दिन पनि मन्दाकिनी हाइड्रो र अपर हेवाखोलाका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत बराबर कमाए ।
प्रतिक्रिया दिनुहोस्