१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति भण्डारीबाट बहालवाला तथा पूर्व उच्च सैनिक अधिकारीहरुसँग छलफल

'सत्ता गठबन्धनमा खैलाबैला'

4.173k
Shares

काठमाडौं । आफूले बुँदागत रुपमा असहमतिहरु राखेर संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी नयाँ खालको छलफलमा जुट्नु भएको छ ।

राष्ट्रिय सभामा विचाराधीन रहेको विधेयक पारित भई पुनः आफूकहाँ आएपछि के गर्ने भन्ने परामर्शमा राष्ट्रपति भण्डारी जुट्नु भएको हो । यसैक्रममा बुधबार राष्ट्रपति भण्डारीले प्रधानसेनापति प्रभुराम शर्मालगायतका उच्च सैन्य अधिकारीहरुसँग परामर्श गर्नुभएको छ ।

साँझ राष्ट्रपति भण्डारीले पूर्वप्रधान सेनापतिहरुसहित करिब ८० जना अवकाशप्राप्त उच्च सैनिक अधिककारीहरुसँग रात्री भोज गर्नुभएको हो । रात्री भाेजमा सहभागी पूर्वजर्नेलहरूसँग राष्ट्रपति भण्डारीले नागरिकता विधेयक, राष्ट्रियहित र सुरक्षालगायतका विषयमा सुझाव लिनुभएको बुझिएको छ ।

राष्ट्रपति भण्डारीले संविधानविद् र कानूनविद्हरुसँग पनि निरन्तर परामर्श गरिरहनुभएको छ ।

गत मंगलबार नेपालस्थित पश्चिमा देशका कूटनीतिज्ञले राष्ट्रपति भण्डारीलाई सामूहिक रुपमा भेटेर बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयकलगायतका विषयमा चासो राखेका थिए भने उनीहरुले विवादास्पद नागरिकता विधेयकको विषयमा पनि चासो राखेका थिए ।

राष्ट्रपतिका परामर्शका शिलशिलाले सत्तारूढ दलहरु भने सशंकित बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसँग राष्ट्रपति भण्डारीका सम्भावित कदमहरुबारे छलफल गर्नुभएको बुझिएको छ ।