२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बौद्धमार्गी नेवार समुदायले आज पञ्चदान पर्व मनाउँदै


247
Shares

काठमाडौं । आज बिहीबार नेपाल संवत् तिथि बमोजिम गुंलागा त्रयोदशी अर्थात पञ्चदान । बौद्ध संस्कृतिअनुसार बिहीबार नेवार समुदायले पञ्चदान पर्व मनाउँछन् ।

यस दिन आँगन, वहाः, वहीमा दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाई चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान गरिन्छ ।

एक दिनअघि बुद्ध प्रतिमा र दान दिइने वस्तु घरको कोठामा जम्मा पारिन्छ । यसरी दान गरिने वस्तु राखिएको ठाउँलाई दानशाला भनिन्छ ।

काठमाडौंको स्वयम्भू महाचैत्यमा आज दान दिने र लिनेको ठूलो भीड लागेको छ । पञ्चदान लिने र दिने दुबैलाई पुण्य र भविष्यमा निर्वाण प्राप्त हुने विश्वास गरिन्छ ।

आजकै दिन महाबौद्ध क्षेत्रबाट १२० जना भिक्षुहरु भिक्षाटन गर्दै स्वयम्भूको भगवानपाउस्थित भुइखेल पुगेका छन् ।