१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको तयारी


351
Shares

काठमाडौं । सरकारले भदौको तेस्रो सातादेखि सुपथ मूल्य पसल सञ्चान गर्ने भएको छ ।

दसैं, तिहार र छठलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना तयार गरेको छ । प्रत्येक वर्ष चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेर सम्बन्धित निकायलाई निर्देशनसमेत गइसकेको जानकारी दिनुभयो । चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसलबाट सामान बिक्री गर्नेछन् । छुट मूल्यमा उपभोक्तालाई सामान बिक्री गरेबापत सरकारले कम्पनीलाई शोधभर्ना रकम उपलब्ध गराउँछ । दुई वर्ष अघिदेखि सरकारले उपभोक्तालाई राहत दिन बजेटमै रकम व्यवस्था गर्दै आएको छ । यस वर्ष उपभोक्तालाई राहत दिन ४ करोड रुपैयाँ छुट्याइएको मन्त्रालयले जनाएको छ ।

सुपथ मूल्य पसलबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट्र ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले उपभोक्तालाई दिएको छुटबापतको रकम सरकारले शोधभर्ना गर्ने गरिएको छ । खाद्य कम्पनीले उपत्यकासँगै बाहिरी जिल्लामा आफ्ना बिक्री कक्षबाट सुपथ मूल्यमा सामान बिक्री गर्दै आएको छ ।

सुपथ मूल्य पसलमा नुन, तेल, चामल, घिउ, पनिर, फापर र कर्णालीको सिमी बिक्रीमा राखिनेछ । यस्तै, घुम्ती सेवामार्फत सुपथ मूल्यमा सामान बिक्री गरिनेछ ।