२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रपति भण्डारीले सैनिक अधिकारीहरुसँग भेट्नु शंकास्पद : अध्यक्ष नेपाल


637
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरुसँग भेट गर्नुले शंका जन्माएको बताउनुभएको छ ।

बिहीवार पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका अधिकारीहरुलाई निवासमा बोलाएर डिनर गराउनुले शंका जन्माएको बताउनुभएको हो ।

उहाँले कुनै अनिष्ट हुने हो कि भन्ने प्रश्न उठेको बताउनु भयो । अध्यक्ष नेपालले राष्ट्रपति र नेपाली सेनाका अधिकारीहरुको बीचमा भएको भेटवार्ताको सम्बन्धमा गठबन्धनमा छलफल भएको पनि बताउनु भयो । उहाँले नेपाली राजनीतिमा प्रतिगामी र राजतन्त्रवादी लगायतका शक्तिहरुको क्रियाशिलताको सम्बन्धमा पनि आफूहरुको नजर पुगिरहेको बताउनु भयो ।

अध्यक्ष नेपालले गत स्थानीय तहको निर्वाचनमा आएको नतिजाप्रति गौरवबोध गर्नुपर्ने बताउनु भयो । उहाँले २७ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख भन्दा बढी भोट पाएको उल्लेख गर्दै सबै ठाउँमा उम्मेदवार उठाएको भए २० लाख भोट पाउने दावी गर्नुभयो ।

उहाँले २० लाख भोट पाए पार्टीको २० सिटलाई कसैले रोक्न नसक्ने बताउनु भयो । उहाँले आगामी निर्वाचनमा समानुपातिक मतले पार्टीको हैसियत देखाउने भएकाले पार्टीको चुनाव चिन्ह प्रचार प्रसारमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

अध्यक्ष नेपालले सबै पालिकामा पार्टीको संगठन निर्माण गर्न र संगठनलाई चलायमान बनाउन निर्देशन दिनुभयो । त्यस्तै पार्टी संगठन र सदस्यहरुको अभिलेखिकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले चुनावी अभियानमा जुट्न पनि नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।