५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


पैंचो पसल प्रालीद्वारा उत्पादित वस्तु अमेरिकामा निर्यात हुने


936
Shares

काठमाडौं । पैंचो पसल प्रालीद्वारा उत्पादित नेपाली ब्राण्डका वस्तु संयुक्त राज्य अमेरिकामा निर्यात हुने भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच पैंचो पसल प्राली र अमेरिकामा कार्यालय रहेको फेन्सी हाउस इन्कसँग पैंचोले उत्पादन गरेका वस्तु अमेरिका निर्यात गर्ने सम्झौता भएको हो । पैंचो र फेन्सी कम्पनीबीच सम्झौता भएसँगै अब नेपालको ग्रामीण क्षेत्रका कृषिजन्य उत्पादनलाई प्रशोधन गरी उत्पादन हुने पैंचोका सामानहरु अमेरिकी पसलहरुमा बिक्री विरतणको लागि राखिने भएको छ ।

पैंचोले उत्पादन गरेका उत्पादनहरुलाई विश्वभर छरिएर रहेका नेपालीहरु माझ पुर्याउने उदेश्यले अमेरिका निर्यातको लागि नेपालको अग्नि एक्जिम प्रालीको सहकार्यमा सम्झौता गरेको हाे । सम्झौता कार्यक्रममा बोल्दै पैंचो पसल प्रालीका बजार व्यवस्थापक लक्ष्मण गैरेले नेपाली उत्पादनको बजार विस्तार गर्दै अब अमेरिका प्रवेश गरेको बताउनुभयो ।

उहाँले अमेरिकामा बस्ने नेपालीहरुले पैंचोको उत्पादनहरुलाई मन पराउने अपेक्षा गरेको बताउनुभयो । गैरेले बसे पनि शहर, गाउँकै खाने रहर’ भन्ने मुल मन्त्रका साथ २०७२ सालमा सुरु भएको पैंचो पसल प्रालीका उत्पादनप्रति नेपाल भरका उपभोक्ताको विश्वास बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले नेपालमा नै बसेर केही गर्न सकिन्छ भनेर स्थापना गरेको पैंचो पसलले अहिले विदेशमा निर्यात गर्ने अवस्थामा पुगेको बताउनुभयो ।

उहाँले नेपाली बजारमा प्रतिष्पर्धा गर्दै अहिले पैंचोको उत्पादनले विदेशी उत्पादनसँग प्रतिष्पर्धा गरिरहेको बताउनुभयो । गैरेले यसअघि जापान, अस्ट्रेलिया र युरोपका विभिन्न देशमा निर्यात गर्दै आएकोमा अबदेखि अमेरिकामा पनि निर्यात गर्ने बताउनु भयो ।

त्यस्तै फेन्सी हाउस इन्कका प्रतिनिधि राज सराफले अमेरिकाका ४ वटा राज्यमा नेपाली उत्पादनहरु बिक्री वितरण गर्ने गरेको बताउनुभयो । उहाँले चार राज्यमा नेपाली १ सय ३५ ब्राण्डमा नेपाली फुड बजारमा बिक्री गर्ने गरेको बताउनुभयो । सराफले अमेरिकामा बसोवास गर्ने नेपालीलाई लक्षित गरी मार्केटिङ गरिरहेको बताउनुभयो । उहाँले नेपालका बाजेको मसला, माटो ब्राण्ड र पैंचो लगायत कम्पनीहरुले विभिन्न सामाग्री उत्पादन गरी अमेरिका निर्यात गरिरहेको बताउनुभयो ।

२०७१ सालमा गुल्मीबाट सुरु भएको पैंचो पसलले गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, जुम्ला र कालिकोट लगायतका जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य पदार्थलाई मात्र खरिद गर्दै आएको छ । ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन र केही मात्रामा भएपनि राष्ट्रिय अर्थतन्त्रलाई जीवन्त राख्न पैंचोका उत्पादनले भूमिका खेलिरहेको कम्पनीको दावी छ ।

यसैगरी विदेशी आयातलाई प्रतिस्थापन गर्न स्वदेशकै ठूला औद्योगिक प्रतिष्ठानहरुलाई पैंचो पसलले औद्योगिक कच्चा पदार्थ उपलब्ध गराइरहेको छ । पैंचोको उत्पादनमा गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, बाग्लुङ, पर्वत, स्याङ्जा रुकुम, रोल्पा, कालिकोट र जुम्लासम्मका १० हजार कृषक प्रत्यक्ष-अप्रत्यक्ष रुपमा आवद्ध रहेको पैंचो पसल प्रालीले जनाएको छ ।

पैंचो पसलले औद्योगिक प्रशोधन गरी विभिन्न स्वादका अचार, विभिन्न प्रकारका जाम, केचप, सस, टोमेटो प्यूरी र भेनगर उत्पादन गरिरहेको छ । यसैगरी परम्परागत खाद्यवस्तु जस्तैः फापरको पिठो, कोदोको पीठो, सिन्की, मस्यौरा तथा जुम्लाको सिमी र पहाडी जिल्लामा उत्पादित मकैको च्याँख्ला लगायतका खाद्य वस्तु उत्पादन गरेकाे पैंचो पसल प्रालीले जनाएकाे छ ।