
काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले चाडपर्व लक्षित सुरक्षा तयारी सुरु गरेको छ ।
नजिकिँदै गरेको दशैं, तिहार, छठ लगायतका चाडपर्वमा हुन सक्ने दुर्घटना न्युनिकरण र ट्रफिक व्यवस्थापन सम्बन्धमा आज पत्रकारसँग छलफल गरिएको हो ।
कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले पत्रकारसँग सुझाव माग्नु भएको थियो भने ट्राफिक प्रहरीको भावी रणनीतिका बारेमा जानकारी गराउनुभएको छ ।
जनशक्ति अभाव, अव्यवस्थित सवारी पार्किङ, बिग्रिएका सिसिटीभि मर्मत नहुनु लगायतका कारण सोचे जस्तो काम गर्न नपाएको उहाँको गुनासो छ । यद्यपी यो पटक दुर्घटना न्युनिकरणका लागि जनताले अनुभुत गर्ने गरी काम गर्ने उहाँको दावी छ।
यसैबिच काभ्रेमा सवारी दुर्घटनामा परी ५ महिनाको अवधिमा २२ जनाले ज्यान गुमाएका छन् । वैशाख ५ गतेदेखी हालसम्म १४ जना पुरुष, ६ जना महिला र २ जना बालबालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
यस्तै सवारी दुर्घटनाका कारण ४८ जना सख्त घाइते भएका छन् भने १०० जना सामान्य घाइते भएका छन् । सोहि अवधिमा १५ हजार २ सय ११ सवारी साधन कारवाहीमा परेका छन् । सवारी कारवाहीबाट १ करोड ६५ लाख ९४ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस्