
-संजिव कार्की
म मेरो आफ्नै अन्तर प्रेरणाले जातीय विभेद विरुद्द लेख्ने बोल्ने गरेको हुँ । समाज र समाज विकास, चेतना अनि सामाजिक मनोविज्ञानलाई हेर्न मेरा पनि दृष्टि छन् । समाजमा गहिरो गरि जरा गाडेको जात प्रथा, छुवाछूत, बोक्सी, छाउ र रङ्ग भेद मैले मेरै आँखाले नियाल्ने गर्छु । म कसैको आग्रह, पुर्वाग्रह र निति र नियतमा मेरो धारणा तय गर्दिन । मेरा बुझाइ मेरो विवेक, मेरो मनसाय सबैको लागि ग्राह्रय, मिजाससिलो, मीठा हुनैपर्छ, हुन्छ भन्ने भ्रम मैंले पालेको छैन । तर म आफ्नो विचार सम्प्रेषण गर्न हरकोही मान्छे झै स्वतन्त्र छु । मलाई यति थाहा छ मैंले बुझेको सबै सत्य नहोला । मेरो आफ्नै ज्ञान वर्कत र ल्याकतमा थुप्रै खोट होलान् पनि । तर मेरो ब्रम्हले स्वीकार गरेको सत्य मेरो रोजाइ र रहर हो । म आफ्नो रोजाईको विषयमा लेख्छु ,बोल्छु ।
मैंले रंगभेद विरुद्द लेखेको छु, बोक्सी, छाउ, छुवाछुत जस्ता सामाजिक कुरीति अन्त्य गर्नुपर्छ भनेर अखवारका पानाहरु भरेको छु । एउटा कलम बोक्नेसँग जे छ त्यसैले बोल्ने, लेख्ने र प्रतिकार गर्ने हो सामाजिक विसंगति अनाचार दुराचार, पापाचार विरुद्द आफूले सकेको खबरदारी गर्नुलाई मैले मेरो सामाजिक उत्तरदायित्व र मानवीय धर्मको रुपमा लिएको छु । राज्यको कुनै तह र तप्कामा नरहेको, नभएको मान्छेले गर्न नै के सक्छ र ? जे सकिएको हो जे जानिएको हो त्यो कलम मार्फत व्यक्त हुन्छ । हाम्रो समाजमा अनगिन्ति विरोधाभाषहरु छन । ती विरोधाभाषबाट म बिमुख छु भन्दिन तर त्यो घटाउने र त्यसलाई साँघुरो पार्ने प्रयत्न गरिन्छ ।
मेरो विरोधाभाषले समाजलाई त्यति क्षति गर्दैन जति समाजको रिति र थितले गर्दछ । सामाजिक संस्थाहरुको विरोधाभाष अनि राजनीतिमा रहेको विरोधाभाषले राज्यलाई अपुरणीय क्षति पुर्याउँछ । मेरो बोलीले मेरो आफ्नै समुदाय र बर्गलाई दुखाउँछ, पोल्छ यदाकदा । मैंले सत्य बोल्दा अरु कुनै समुदायको छाती चर्कन्छ । कारण हामी आफूले मानेको, बुझेको र देखेको मात्र सत्य तथ्य र यथार्थ भनेर बुझ्छौं । आफ्नो विश्वास नै अन्तिम सत्य ठान्छौं । यही भ्रम र विश्वास मेरो हकमा पनि अपवाद नहोला ।
म केही वर्ष देखि कथित दलितको मुद्दा र विषयमा पनि चासो राख्छु । यसो अखबारी लेखन गरि टोपल्छु । यो मेरो मानवीय धर्म भन्ने मेरो विश्वास हो । मैंले लेख्दा बोल्दा खुशी हुने दलित समुदाय देखि मेरो लेखाइमा गोहीको आँसु देख्ने अनिदलितको गरिबी, दुःख र पीडा आँसु र रोदन बेच्ने मान्छेको उपमा समेत पाएको छु । यद्यपि म आफूभित्र अन्तर्निहित भाव र उदेश्य राखेर लेख्ने हुनाले मलाई यस्ता आरोप, छुद्र टिप्पणी र सस्ता प्रसंशाले कमै छुन्छन ।
अहिले दलित समुदाय लगायतका युवाहरुको रुकुममा कत्लेआम गरिएको सम्बन्धमा पनि मेरो लेखाइलाई यस्तै आक्षेप लागेको छ । भने कतिपय हाम्रै समुदाय पनि चिढिएको पाएको छु । यी दुवै अतिवादीप्रति मलाई ठूलो गुनासो छैन । मानवीयता बिर्सेर समाज विभक्त बनेकोमा भने चित्तदुखाइ र समाज भड्किन्छ कि भन्ने चिन्ता छ । सामाजिक विश्वासको आधार खलबलिन्छ कि भन्ने चासो छ ,समुदाय समुदायको अविश्वास र मत भिन्नताको दुरी फराकिलो हुन्छ कि भनेर चिन्ता गर्ने मान्छेहरु धेरै छन् । जात ,धर्म र सम्प्रदायमा समाज खण्डित बनर अरु अप्रिय घटना दुर्घटना र भवितव्य समेत नहोस भनेर कामना गरेर सदभाव कायम रहोस भन्ने हेतु हो ।
म कुनै सिद्दान्तकार भविष्य बेत्ता होइन केवल सिद्दान्तलाई व्यवहारिक कसीमा उत्रेको छ कि छैन भनेर भुइँ तहबाट, भुइँ तहका मान्छेको हेराईबाट बुझ्ने , खोतल्ने चेस्टा गर्ने मान्छे मात्रै हुँ । यसर्थ मेरा निस्कर्ष र निचोड नै ब्रम्हसत्य होइन । अहिले दलित आन्दोलन भित्र दलित समुदायको आफै भित्रको अनेकता अनि परस्परको इगो र आफू मात्रै ठूलो, म मात्र अभियन्ता र सब दलित आन्दोलनको प्रेरक र श्रेयको भागीदार म हुँ भन्ने अनहेल्दी प्रतिस्पर्धा र त्यहाँ भित्र निहित ब्राह्मणवादले कसैको निजि स्वार्थ त पूर्ति होला तर सामाग्र समता र मर्यदाको आन्दोलन र अभियान कमजोर हुनेछ भन्ने मेरो मत छ ।
आफैं भित्रको चर्को अन्तरबिरोध र नेता मात्र बन्ने होडबाजी अनि अन्य समुदाय र व्यक्तिबाट प्राप्त हुने सहानुभूति,सहयोग र समर्थनको अवमूल्यन गर्ने परिपाटीले पक्कै फाइदा गर्दैन । केही टाठाबाठा दलितलाई दलको फेरो समातेर संसद मन्त्री र कुनै राजनितिक नियुक्ति र कोटा राजनीतिमा हैसियत वृद्धि गर्ने भन्दा अरु गुणात्मक परिवर्तन र आधारभूत वर्ग उत्थान देखिन्न । कुनै पनि मुभमेन्ट आस्था, निष्ठा, समर्पण र मुल्यबोधको सिद्धान्तले अनुप्राणित हुन्छ नकि नेता बन्ने, स्वार्थ साँध्ने अनि बार्गेनिङ पावर मात्रै बढाउने उदेश्यले हुन्छ ? निष्ठा थोरै नारा र सस्ता प्रचारले मात्र महान उदेश्य हाँसिल हुन सक्दैन । सामाजिक संजालमा लेखेर बोलेर मात्रै सबै कुरा सजिलोसँग प्राप्त गर्ने अभिस्टले प्राय दलित अभियान र आन्दोलन देखिन थालेको छ ।
समाज बिकासक्रमको गति र सामजिक चेतनाको विकास बिना आजै र भोलि नै परिवर्तन खोज्नु समयको बहाव बुझ्न नसक्नु हो । समाज विकासको गति र लय नसमाती क्रान्ति , हतियार , युद्ध र परिवर्तन शव्दमा छिटो प्राप्त हुन्छ तर व्यबहारमा सम्भावना छैन । सामाजिक बेथिति, अमानवीयता छुवाछुत, छोइछिटो कुनै निश्चित बर्ग र उत्पीडित, अपहेलित समुदायको मात्रै भनेर सोचियो भने त्यो गम्भीर भूल हो । दलितको समस्या दलितकै मात्र, जनजातिको समस्या उसकै मात्र र गरिब निमुखाको समस्या तिनीहरुकै मात्र भनेर बुझ्ने र परिभाषित गर्ने एकांकी सोच अहिले पनि जस्ताको तस्तै छ भन्ने कुरा संसदमा रुकुम घटनाले पनि पुष्टि गर्यो ।
रुकुम दुखेको पीडा ऐया भन्दै दुखेको अनुभूति केवल दलित संसदहरुले मात्रै गरे त्यो पनि आ आफ्नो पार्टीमा अबद्द्ता जनाउँदै । सबै दलित संसद्को एक स्वर र ध्यानकर्षण प्रस्ताब संसदमा पुग्न सकेन । केवल आफ्नो समुदायको लागि भनेर समर्थनको लागि समर्थन जस्तो मात्रै देखियो । झन सिंगो संसदले यो अमानवीय ज्यादतीलाई कसरी सम्बोधन गर्न सक्थ्यो र ? कारण हो दलित पनि आफैंमा विभाजित हुनु, पार्टीको हलिया हुनु, स्वतन्त्र विवेक प्रयोगमा लाग्न नसक्नु ? अनि कसरी उठछ दलित आन्दोलन ? कसरी हुन्छ जातीय मुक्ति ? खै विवेक ? सिंगो संसदले विवेक प्रयोग गर्न सकेन मानियो त्यहाँ ब्राम्हणवादी बाहुल्यता छ तर बिबिध पार्टीमा आबद्द दलित संसदको समेत संयुक्त एकताबद्द आवज र संसदलाई ध्यान खिच्न नसक्ने प्रस्ताब नगरिनु दुखद हो । यसैलाई दलित आन्दोलनको अर्को सिमा र कमजोरी भन्ने मेरो राय छ । अरु समुदाय पक्ष र पीडक भनिएका समुदायको सहयोग, सकरात्मक पहल र सदभावद्वारा छिटो सफलता मिल्छ भन्ने कुरामा मेरो दृढता छ तर दलित समुदायको लागि अन्य पक्षको समर्थन सक्रियता रुचिकर हुन सकिरहेको बुझिन्न्न यसो किन भयो होला ? गैर दलितले नबुझेको दलितका कुरा यही हो ।
ब्राह्मणवाद क्षेत्री बाहुनसँग मात्रै छ भन्ने भ्रम पालेर ब्राह्मणवादको अनुसरण गर्ने दलितहरु भए सम्म ब्राह्मणवाद २० को उन्नाईस होला तर घटदैन । ब्राह्मणवाद थर, गोत्र र जात होइन दर्शन, प्रवृति, सोच, चिन्तन र व्यबहार हो । सो चिन्तन अहिले सतहमा आएका दलित अभियन्ता, पार्टीका नेता, अगुवा, पत्रकार र स्वघोषित ठालु दलितमा देखिनु, परस्परमा अहम र अविश्वास पैदा हुनु समता र मर्यादाको आन्दोलन कमजोर पार्ने अहंकारी ब्राह्मणवादको अर्को कडि हो । जुन खेद जनक छ । पार्टीकै फेरो समात्नु पर्ने, आफ्नै लागि लबिङ गर्नुपर्ने र अर्को समुदाय र बर्गको सद्भावर समर्थन सक्रियतामा आफ्नो भाग खोस्ने मनोवृत्ति भनेर बुझ्नु पनि यस आन्दोलन भित्रका कमजोरी र संकीर्णता हुन । आन्दोलन एक्लै सफल हुँदैन भन्ने जान्दा जान्दै आफ्नो जातीय पसल चलाउने र स्वआर्जन नै आन्दोलन हो र सिमित व्यक्ति, अगुवा पत्रकारको वर्गोउत्थान र अवसर सबथोक मान्ने स्वार्थी, मतवलवी ध्येय नै अहितकर र सर्वथा निन्दनीय छ ।
संविधानले नै आफ्नो नागरिकको खण्डित परिभाषा गरेर भेद स्वीकार गरेको छ । जसलाई दलित आफैंले संविधानमा राख्न लगाएका हुन त्यो संबैधानिक ब्यबस्था भनेर दलित शब्द आफैंमा विभेदकारी छ । संविधानमै दलित लेख्ने अनि दलित भने भनेर बिमति राख्ने शैली पनि विरोधाभाषपूर्ण देखिन्छ । जसलाई सच्याएर जानु पर्ने हो कि ? पूर्वराजा ज्ञानेन्द्रको सहानुभूति र सदासयता सहित रुकुम घटना प्रसंगलाई तिम्रो सदासयता गोहीको आँशु हो तिमीले के गर्यौ, तिम्रा बंशले के गरे भन्ने समेतको प्रश्न दलित अगुवा र दलित प्रतिनिधिको देखियो यो निसेधात्मक र समुदाय समुदायको खाडल गहिरो बनाउने र दलित आन्दोलनलाई अन्य समुदायको समर्थन र सहयोगबाट बन्चित गराउने जान अन्जान त्रुटी हो ।
स्मरण गर्नु पर्ने कुरा के हो भने निरङ्कुश तिनै राजा महेन्द्रको गिदीले नयाँ मुलुकी ऐने बनाएर पहिलोपटक जातीय छुवाछुतलाई बर्जित गर्ने कानुन निर्माण गरेका हुन । समस्या जातको होइन देशको हो । सम्पूर्ण मानवको हो । अतः सबैको हातेमालो सहयोग र समर्थनमा देशको कुरीतिलाई अल बिदा गरौं । संकीर्ण मानसिकता दलित गैरदलित सबैले त्याग्नु जरुरि छ । गैरदलितले अलि बढी योगदान गरेर आफूजस्तै अर्को मानवको घाउमा मलमपट्टि गर्न सकियो भने मानवीय मूल्य सबैको बराबर हुनेछ ।
‘कामी’ले छोएको ‘दमाई’ले नखाने, ‘दमाई’ले छोएको ‘सार्की’ले नखाने, ‘सार्की’ले छोएको ‘गाइने’ले नखाने, ‘गाइने’ले छोएको ‘वादी’ले नखाने, ‘वादी’ले छोएको ‘डुम’लेनखाने अनि छुवाछूत चाँही ठूला जाति र दलित बिचको मात्र देखिने ? यो आन्तरिक विभेद र ब्राम्हणवाद तोडेर दलितहरु निस्कनु पर्छ अन्यथा आफ्नो आंगको जुम्रो र अर्काको आंगको भैसीमा असाध्यै फरक देखिन्न आफू भित्रको बिरोधाषा र अन्तर विरोधलाई चिरेर अघि निस्कनु पर्छ । समता र मर्यादाको आन्दोलन कुनै वर्ग विशेषको होइन देशको हो ।
प्रतिक्रिया दिनुहोस्