१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद र सांसदको भूमिकाप्रति पूर्वप्रधानन्यायाशीश श्रेष्ठकाे असन्तुष्टि


390
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले संसद र सांसदहरूको भूमिकाप्रति असन्तुष्टि जनाउनुभएकाे छ ।

शनिबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनः नयाँ संसदीय निर्वाचनको एजेण्डा’ विषयक एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले सरकारका सबै अंग र संवैधानिक निकायका काममाथि जनताले प्रश्न उठाउँदा समेत संसद र सांसदहरूले कुनै काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाउनुभयाे ।

जनताको तर्फबाट सम्पूर्ण राजनीतिक गतिविधिहरूको निगरानी गर्ने, त्यसलाई पृष्ठपोषण गर्ने, त्यसलाई भरथेग गर्ने र त्यसलाई नियमित गर्ने यावत कर्महरू गर्नुपर्ने अपेक्षा गरिएको संसदले त्यो भूमिका निर्वाह गर्न नसकेको उहाँले बताउनुभयाे। सांसदहरू जनताप्रति जवाफदेही नभएको, उनीहरूले सरकार र संवैधानिक निकायका कामहरूमाथि उठाएका प्रश्नहरूको जवाफ दिन नसकेर रक्षात्मक अवस्था रहेको उहाँकाे टिप्पणी छ ।

त्यस्तै साेही कार्यक्रम बाेल्दै नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराले वैदेशिक मुद्राको समेत संकट आउन सक्ने अवस्था मुलुकमा विद्यमान रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सरकारको कामकारबाही सन्तोषजनक नरहेको उल्लेख गर्दै उहाँले अब आउने निर्वाचनमा भने ती समस्याहरू समाधान गर्न सक्ने जनप्रतिनिधि जनताले निर्वाचित गराउनुपर्ने उहाँकाे तर्क छ ।

साेही कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक एवं प्राध्यापक कृष्ण खनालले मुलुकमा परिवर्तन चाहने हो भने पटकपटक प्रधानमन्त्री हुने खालको पात्रहरूलाई अबको निर्वाचनबाट जनताले बिदाई गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीगत आस्थाको दासत्वबाट मुक्त भएर सांसदहरू नबनेसम्म मुलुक अघि बढ्न नसक्ने दावी समेत गर्नुभयो ।

उहाँले नेताहरूको दासत्वले मुलुकलाई अघि बढन नदिएको जिकीर पनि गर्नुभयो ।