
काठमाडौं । भदौ २१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरिएको छ।
प्रशिक्षक कुमार थापाले आज २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । टोलीमा तीन नयाँ खेलाडीले अवसर पाएका छन् । डिफेण्डर समीक्षा घिमिरे, मिडफिल्डर दीपा शाही र फरवार्ड अमिसा कार्मीले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन्।
रेखा पौडेलले टिममा पुनरागमन गरेकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने च्याम्पियनसिप अन्तरगत नेपालले उद्घाटन खेलमा भुटानको सामना गर्नेछ । समूह ‘बी’ मा रहेको नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल सहज मानिएको ‘बी’ रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेका छन् ।
यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतिक्रिया दिनुहोस्