
काठमाडौं । नेपाली सांगितिक क्षेत्रको सर्वाधिक ठूलो टुवोर्ग ईमेज अवार्डको २२ औं संस्करणको यस वर्षको विविध विधाका पाँच उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उत्कृष्ट पाँच विधाका मनोनयन सार्वजनिक गरिएको हो । विश्वभर फैलिएको कोरोना महामारीका कारण पछिल्ला दुइ वर्ष यो अवार्ड आयोजना हुन सकेको थिएन । त्यसकारण सो अवधिसमेत पर्नेगरी यस वर्ष २०७६ असार १ देखि २०७९ जेठ मसान्तभित्र सार्वजनिक भएका नेपाली गीत, संगीत, रचना र म्यूजिक भिडियोलाई मनोनयनमा समावेश गरिएको ईमेज च्यानलका अध्यक्ष तथा प्रवन्ध निर्देशक आरके माननधरले जानकारी दिनुभयो ।
हेर्नुहोस को को परे मनोनयनमा ?

यस वर्ष गीत, संगीत, रचना लगायत म्युजिक भिडियो र पब्लिक च्वाईस अवार्ड समूह गरि जम्मा १५ विधा रहेका छन् । प्रत्येक विधाको उत्कृष्ट ५ मनोनयनका लागि नेपाली सांगितिक क्षेत्रका विज्ञहरूबाट प्राविधिक भोट लिइएको थियो । पब्लिक च्वाईस अवार्ड को एक विधाका लागि ईमेज खबर डट कम मार्फत आईतबारबाट अनलाइन भोटिङ खुल्ला गरिएको छ । अनलाइन भोटिङ २०७९ भदौ १२ गते देखि अवार्ड वितरण हुने अघिल्लो दिन अर्थात २०७९ असोज २ गतेसम्म खुला रहनेछ । यस विधामा सर्वाधिक भोट प्राप्त गर्ने स्रष्टालाई विजेता घोषणा गरी अवार्ड प्रदान गरिने छ । सबै विधाको अवार्ड वितरणको ग्राण्ड फिनाले कार्यक्रमको आयोजना भने असोज ३ गते हुनेछ ।

ईमेज अवार्डको विशेष आकर्षणको रुपमा रहेको ईमेज लाइफटाइम अचिभमेन्ट अवार्डबाट यस वर्ष नेपाली सांगितिक क्षेत्रका मूर्धन्य व्यक्तित्व हास्यव्यङग्य जगतका ख्यातीप्राप्त कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानित गर्न लागिएको पनि अध्यक्ष मानन्धरले बताउनुभयो ।
शनिवारको पत्रकार सम्मेलनमा उत्कृष्ट मनोनयमा परेका गीत संगीत र त्यसमा संलग्न विभिन्न व्यक्तित्वहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

ईमेज अवार्डको स्थापना
ईमेज अवार्ड ईमेज च्याननले विगत दुइ दशकदेखि प्रत्येक वर्ष प्रदान गर्दे आइरहेको नेपालकै सांगितिक क्षेत्रको सबैभन्दा ठूलो अवार्ड हो । इमेज एफ.एम. ९७.९ को उद्घाटनसंगै वि.सं. २०५५ सालमा स्थापित यस अवार्डले विभिन्न विधामा धेरै सर्जकहरुलाई सम्मान गरिसकेको छ । कोरोना महामारीका कारण यो अवार्ड दुई वर्ष भने रोकिएको थियो । अब भने यसलाई निरन्तरता दिने अध्यक्ष मानन्धरले प्रतिवद्धता जनाउनु भएको छ । नेपाली सांगितिक उद्योगको विकासमा ईमेज च्यानलले शुरुवाती दिनदेखि नै अहम् भूमिका निर्वाह गर्दै गीत, संगीत र साधकहरूलाई सक्दो प्रोत्साहन दिँदै आएको छ ।

अवार्ड प्रदान गर्नुको उद्येश्य
ईमेज अवार्डको उद्येश्य नेपाली संगीत, संगीतकर्मी र संगीत उद्योगको क्षेत्र व्यापक बनाउन, गुणात्मक श्रीवृद्धि गर्न र गीत संगीतको विधामा लागेका स्रष्टाहरुलाई प्रोत्साहन गर्नु रहेको छ । ईमेज च्यानलका अध्यक्ष मानधरले आफूहरुले समाचारमात्र नभई गीत संगीतलाई पनि त्यत्तिकै प्राथमिकता दिएको बताउनु भयो ।
कोरोना महामारी पछि शिथिल भएको नेपाली सांगितिक क्षेत्रलाई उकास्न यो अवार्डले महत्वपूर्ण भूमिका खेल्न सक्ने पनि अध्यक्ष मानन्धरको विश्वास छ ।

कसरी हुन्छ मनोनयन ?
ईमेज अवार्डका लागि सबै विधामा मनोनयन गर्नका लागि नेपाली सांगितिक क्षेत्रका विज्ञहरुबाट मूल्यांकन एवं प्राविधिक मत(टेक्निकल भोट) का आधारमा गीत, संगीत र स्रष्टाको मनोनयन गरिने गरेको ईमेज च्यानलका प्रमुख कार्यकारी निर्माता दीपेन्द्रराज डंगोलले जानकारी दिनुभयो । ।

प्रतिक्रिया दिनुहोस्