
काठमाडौं । डाबर नेपालले उत्पादन गरेको रियल म्याङगो जुसमा लेदो भेटिएको छ ।
काठमाडौंको बसुन्धारास्थित एक पसलबाट उपभोक्ताले खरीद गरेको जुसमा लेदो भेटिएको हो । उनले जुस किनेर घरमा लैजादा बोटल भित्रको जुस जमेको भेट्टाएका थिए । बहुराष्ट्रिय कम्पनी डाबरले रियल जुस जस्ता पेय पदार्थ उत्पादन गर्दै आइरहेको छ । तर उसले आफ्नो उत्पादनमा हेलचेक्र्याइ गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएको छ । यस अघि पनि डाबरका उत्पादनमा बिभिन्न समस्या देखिएका थिए । तर त्यसलाई ध्यानै नदिई उत्पादन गर्दा नेपालीहरुको स्वास्थ्यलाई असर गरिरहेको छ । गर्मी याममा नेपालमा चिसो पेय पदार्थको माग बढ्ने गरेको छ । तर मानव स्वास्थ्यलाई ध्याननै नदिई पेय पदार्थको गुणस्तरीयताका विषयमा उत्पादकले जथाभावी गर्ने गरेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।
ईमेज खबरको सम्पर्कमा आएका ती उपभोक्ताले अर्काे बोतलको जुस खोल्दा पनि त्यस्तै रहेको र त्यो खाँदा आफू बिरामी परेको भन्दै त्यस बिरुद्ध आफू उजुरी गर्न जाने बताए । आफूले अखाद्य जुसले मानव स्वास्थ्यलाई असर पार्ने भनेर कम्पनीको सम्वन्धित व्यक्तिलाई खबर गर्दा समेत त्यसको वेवास्ता गरिएको ती उपभोक्ताको भनाई छ । डाबरको काठमाडौं उपत्यकाको वितरण हेर्ने प्रमुख विनोद सुवेदीले यसमा डाबरको गल्ती भएको स्वीकार गरेका छन् ।
आफूहरु गुणस्तरमा प्रतिवद्ध रहेको दाबी गर्दे उनले ढुवानी र सिलबन्दी गर्दा बोतलमा हावा छिर्ने,कुच्चिने जस्ता कारणले यस्तो भएको हुनसक्ने भन्दै त्यस्ता बोतल बजारबाट हटाउन थालिएको बताए । इमेज खबरलाई प्राप्त भएको बोतलमा उत्पादन मिति जुलाइ २२ तारिख लेखिएको छ । यसैगरी डाबर नेपालकी ब्राण्ड मेनेजर प्रजिता श्रेष्ठले बोतल प्याकिङमा कमजोरी भएको हुनसक्ने भन्दै यसलाई आफूहरुले गम्भीर रुपमा लिएको ईमेज खबरसँग बताईन ।
उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले जनस्वास्थ्यमा लापरवाही गर्नेलाई सरकारले कडा कारवाही गर्नु पर्ने बताउँछन् । उद्योगी व्यवसायीको लापरवाहीले गर्दा उपभोक्ताहरु ठगिने गरेको भन्दै बजार अनुगमनमा तीनै तहका सरकार गम्भीर नभएका महर्जनको भनाई छ । सरकारको नियामक निकाय सक्रिय नहुँदा यस्ता घटनाहरु बारम्बार दोहोरिने गरेको उनले बताए । त्यसैगरी कतिपय उपभोक्ता अधिकारकर्मीहरुले वारम्बार गल्ती गर्नेलाई कारवाही गर्नु पर्ने र त्यस्ता उत्पादन प्रयोग गर्न नहुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्