
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताउनुभएको छ ।
मंगलबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताउनुभएको हो । उहाँले निजी क्षेत्रका चार्जिङ स्टेशनले १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएकोले प्राधिकरणले तोकेबमोजिम हुनुपर्ने बताउनु भयो । कार्यकारी निर्देशक घिसिङले देशभर ५१ वटा चार्जिङ स्टेसन बनाउने तयारीमा लागेको बताउनु भयो ।
उहाँले देशका विभिन्न क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन बनाउनको लागि प्राधिकरणले निजी क्षेत्रलाई पनि सहमति दिने बताउनु भयो । घिसिङले निजी क्षेत्रले बनाएका स्टेसनमा प्राधिकरणले भन्दा २० प्रतिशत थप गरेर शुल्क लिन पाउने पनि बताउनु भयो । उहाँले रत्नपार्कको चार्जिङ स्टेशन १२० किलोवाट डिसि क्षमता रहेको बताउनु भयो ।
उहाँले विद्युतीय सवारी एक घण्टाभित्र चार्ज पूर्ण गर्न सकिने बताउनु भयो । उहाँले चार्जिङ स्टेसनमा विद्युतीय सवारी चार्ज गर्दा औसत प्रति किलोमिटरमा ७० पैसा लाग्ने बताउनु भयो । घिसिङले माइक्रोबसमा ९० पैसा र ठूला बसहरुमा १ रुपैयाँ २० पैसा लाग्ने बताउनु भयो ।
उहाँले चार्जिङ स्टेसनमा समय अनुसार फरक –फरक राती पिक समयमा ८.७० पैसा ,रातीको समयमा ५ रुपैयाँ ५ पैसा र बिहानदेखि दिउँसो चार्ज गर्दा ६ रुपैयाँ ९० पैसा निर्धारण गरेको बताउनु भयो । उहाँले विद्युतीय बस तथा माइक्रोबसको चार्जिङ सस्तो भएपछि भाडा पनि सस्तो हुनुपर्ने भन्दै अहिले महँगो रहेको भाडालाई पनि नियन्त्रण गर्ने बताउनु भयो ।
उहाँले विगतमा विद्युतीय चार्जिङ स्टेसनको कुरा सोच्न पनि नसक्ने अवस्थामा रहेको तर अहिले चार्जिङ स्टेसन बनाउने अवस्थामा आउनु विद्युतीय क्षेत्रमा ठूलो परिर्वतन भएको बताउनु भयो । प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाअनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसन धमाधम जडानको काम भइरहेको छ ।
चार्जिङ स्टेसन जडानका लागि सिभिल पूर्वाधार निर्माणको काम लगभग सकाएर जडान भइरहेको बताएको छ । केही समयभित्रै ५१ वटै स्थानमा चार्जिङ स्टेसन जोडिसक्ने प्राधिरकणको लक्ष्य छ । प्राधिकरणले देशभरका राजमार्ग र मुख्य शहरका बसपार्क, सार्वजनिक जग्गा लगायतका स्थानमा चार्जिङ स्टेसन जडान गर्न लागेको हो ।
विद्युत खपत प्रवद्र्धन गर्नका लागि विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले देशका प्रमुख शहर तथा राजमार्गहरुमा द्रुत सवारी चार्जिङ स्टेसनहरुको स्थापना गर्ने अभियानमा प्राधिकरण रहेको छ । प्राधिकरणले नेपालमै पहिलो पटक सरकारी तहबाट विद्युतीय गाडी चार्ज गर्नका लागि स्टेसन सञ्चालनमा ल्याएको हो । चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्नेछ ।
प्रतिक्रिया दिनुहोस्