
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि नेपाल प्रहरीलाई सात अर्ब ९९ करोड ४९ लाख रुपैयाँ बजेट दिइएको छ ।
नेपाल प्रहरीका लागि एक अर्ब २३ करोड ५० लाख तथा म्यादी प्रहरीका लागि पाँच अर्ब ८६ करोड ३९ लाख रुपैयाँ बजेट छुट्याइएको हो । यो बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आउँदो चुनावका लागि ७१ हजार ६ सय ९३ प्रहरी कर्मचारी र एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिनेछ ।
यस पटक पालिका चुनावमा भन्दा २५ हजार बढी नेपाल प्रहरी तथा म्यादी प्रहरी थप गर्ने तयारी छ । जसमा १५ हजार म्यादी प्रहरी थपिने छन् । चुनावको समयमा प्रहरी कर्मचारीतर्फ जिल्लाभित्र खटिने प्रहरीले सात दिनका लागि र बाहिर जिल्लामा खटिने प्रहरीले १३ दिनका लागि दैनिक भ्रमण भत्ता पाउनेछन् । यो भत्ता सिपाहीका हकमा प्रतिव्यक्ति प्रतिदिन एक हजार दुई सय रुपैयाँ हुनेछ ।
अन्य तहअनुसार भत्ता उपलब्ध हुने जनाइएको छ । उनीहरूले चुनावको मुख्य चार दिन प्रतिदिन तीन सय रुपैयाँका दरले खाजा खर्च पनि प्राप्त गर्नेछन् । नेपाल प्रहरीले चुनाव प्रयोजनार्थ एक सय ८० वटा गाडी किन्ने भएको छ । प्रहरीले चुनावका लागि कुल एक हजार चार सय ९४ वटा गाडी माग गरेको थियो । अर्थ मत्रालयबाट गाडी खरिदका लागि ७५ करोड रुपैयाँ बजेट स्वीकृत भएसँगै प्रहरीले गाडी खरिदको तयारी थालेको छ ।
प्रहरीले बढीमा ५० लाख रुपैयाँसम्मका गाडी खरिद गर्न पाउनेछ । चुनावमा कुल दुई हजार सात सय ९५ वटा गाडी परिचालन गर्ने योजना प्रहरी प्रधान कार्यालयको योजना छ । चुनावको तयारीस्वरूप नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाको संयोजकत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिसकेको छ ।
प्रदेशमा प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी नायब उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा निर्वाचन सेल गठन गरिएको छ । अर्थ मन्त्रालयबाट प्रस्ताव स्वीकृत भएर आएसँगै केन्द्रीय सुरक्षा योजना निर्माणमा गृह मन्त्रालय जुटेको छ ।
प्रतिक्रिया दिनुहोस्