
काठमाडाैं । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले खुला संसदको अवधारणा कर्णाली प्रदेशमा स्थापित भइसकेकाे बताउनुभएकाे छ ।
सभामुख शाहीले दोहोरो संवाद गर्ने कार्यक्रम जनतासँग प्रदेश सभा र जनतासँग सभामुख कार्यक्रमका लागि प्रत्येक जिल्लामा भिडियो कन्फ्रेन्स सिस्टम जडान गरेकाे बताउनुभएकाे हाे । संचारकर्मीसँग कुराकानी गर्दै उहाँले जनतासँग प्रत्यक्ष जोडिंदा जनस्तरबाट आउने प्रश्नले आफूलाई सिर्जनात्मक हुन र अझ बढी काम गर्न उत्साह प्रदान गरेको बताउनुभएकाे हाे ।
खुला संसदको अवधारणाको प्रयोगले संसदलाई अझ जनताप्रति उत्तरदायी हुन र जनताका तत्कालीन सरोकारहरुलाई सम्बोधन गराउनलाई बल पुगेको उहाँकाे तर्क छ । उहाँले जनस्तरमा पनि विधायकी कामको विषयमा जानकारी बढिरहेको र सचेत नागरिकहरु नागरिक तहमा त्यसको संख्या वृद्धि हुँदै गइरहेको बताउनुभयाे ।
उहाँले खुला संसदको अवधारणालाई पनि नीतिगत रुपमा सम्बोधन गर्न नियमावलीमा व्यवस्था गरिरहेकाे बताउनुभयाे । सुरुमा निर्माण गर्दा नियमावलीमा रहेका अपुगलाई फूलफिल (पूर्ण) गरिरहेकाे उहाँले बताउनुभयाे । प्रक्रियाहरु निर्धारण गर्दा त्यसलाई पनि एडभान्स (अग्रिम) बनाउदै लगेकाे उहाँकाे भनाइ छ ।
खुला संसदको अवधारणालाई अझ विस्तृत बनाउदै लैजाने, व्यवहारिक रुपमा अनुभव हासिल गरेर अझ बढी प्रभावकारी रुपमा अवलम्वन गर्न सकिन्छ भन्ने सन्दर्भमा सबैकाे राय र सुझावहरु लिने प्रक्रिया सुरु भएकाे समेत उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे,-‘हामीले यसमा थप योगदान के गर्न सक्छौँ योजना बनाएका छौँ ।’
प्रतिक्रिया दिनुहोस्