
काठमाडौं । नेपालले यसै साता लिएको ऋणको विरुद्धमा युवा तथा विज्ञहरू सडकमा आएपछि वन तथा वातावरण मन्त्रालयले जलबायु परिर्वतनका कार्यक्रम सञ्चालनका लागि वैदेशिक अनुदानलाई स्वीकृत गरेपनि ऋणलाई बहिष्कार गर्ने प्रतिबद्धता जनाएको छ ।
जलवायु परिर्वतनका कार्यक्रमका लागि अर्थ मन्त्रालय र विश्व बैंकबीच भएको ऋण सम्झौताको चर्को विरोध भएको हो ।
अभियन्ता तथा जलवायुविद्हरूले बुधबार माइतीघर मण्डलामा उक्त ऋण सम्झौताविरुद्ध प्रदर्शन गरेपछि अर्थ मन्त्रालयले गरेको सम्झौता नमान्ने वन मन्त्रालयले जनाएको छ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका लागि वैदेशिक ऋण लिएर मुलुकलाई आर्थिक भार नथप्ने प्रतिबद्धता जनाएका हुन् ।
जलवायु परिवर्तन गराउने मुख्य तत्व हरित गृह ग्यास उत्सर्जनमा नेपालको नगन्य भूमिका हुँदाहुँदै पनि जलवायुको असर नेपालले नै खेप्नुपरेको र त्यसमाथि जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न वैदेशिक ऋण लिन नसकिने उनको भनाइ छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्