२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रधानमन्त्री र शिक्षामन्त्री विश्वविद्यालय खुलाउनतर्फ नलागेको सांसद गिरीको आरोप


143
Shares

काठमाडौं । नेकपा (एमाले) का सांसद पदम गिरीले प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल विश्वविद्यालयको समस्या समाधान गर्न नलागेका बताउनुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद गिरीले त्रिभूवन विश्वविद्यालय अझै पनि बन्द अवस्थामा रहेको बताउनु भयो । नेपाल विद्यार्थी संघले भिसीको कार्यालयमा गएर तोड्फोड गर्ने तथा त्रिवि कार्यकारी समिति बैठकको कागजात खोस्ने लगायतका कामहरु गरिरहेको भन्दै उहाँले दोषी उपर मुद्दा दर्ता समेत हुन नसकेको बताउनु भयो ।

उहाँले विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखले गरेको रुलिङ अनुसार काम नभएको भन्दै आपत्ति जनाउनु भयो । सांसद गिरीले प्रधानमन्त्री र शिक्षामन्त्री विश्वविद्यालय खुलाउनतर्फ नलागेको आरोप लगाउनु भयो ।

उहाँले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई विश्वविद्यालय बन्द गराएर देशलाई कहाँ पुर्‍याउन खोजिएको हो भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखलाई पुनः रुलिङ गर्न अनुरोध पनि गर्नुभयो ।

समय माग गरी बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले मिटरब्याजीहरु धमाधम पक्राउ परिरहेको भन्दै सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मिटरब्याजीहरुको मुद्दालाई कमजोर नबनाउन सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले मिटरब्याजीहरुलाई कारबाही गर्ने सम्बन्धमा केही कानूनी अड्चन पनि देखिएको भन्दै सो समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो ।