
काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रका सबै सूचकांकहरु सकारात्मक हुँदै गएको दावी गर्नुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले सरकारले समयमै होशियारी अपनाएका कारण मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नदिएको समेत बताउनुभयो ।
नेपालको अर्थतन्त्र समाप्त नै हुन्छ भन्ने ठूला-ठूला आवाज उठिरहेका बेला सरकारले आवश्यक नीति लिएर त्यसलाई बिग्रन नदिएको उहाँले जिकीर समेत गर्नुभयो । तरलताको समस्या केही हदसम्म अझै कायमै रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले त्यसलाई हल गर्न सरकारले समयमै बजेट खर्च गर्ने कुरामा विशेष ध्यान दिएको पनि बताउनुभयो ।
अर्थमन्त्री शर्माले निर्यात प्रवर्द्धन गर्नका लागि बनाइएको नीतिगत निर्णयहरु तत्काल कार्यान्वयन गर्न पनि उद्योगी, व्यवसायीहरुलाई आह्वान समेत गर्नुभयो ।
साेही कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले कोभिड कालमा पाएका सेवा, सुविधाहरु सधैं नपाउनेतर्फ उद्योगी, व्यवसायीहरुको ध्यानाकर्षण गराउनुभयो । उहाँले आर्थिक वृद्धिदरसँगै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘उद्योगी, व्यवसायीहरुले कोभिड कालमा पाएका सुविधाहरु सधैं पाउने अवस्था नरहन सक्छ । आर्थिक वृद्धिदर गर्ने भनेको रोजगारीको अवसर सिर्जना हुने गरी हो । त्यसलाई ध्यानमा राखेर राष्ट्रिय योजना आयोगले आर्थिक वृद्धि र रोजगारीमा त्यसका पारेको प्रभावबारे तथ्यांक नै बनाउने तयारी गरिरहेको छ ।’
उपाध्यक्ष पौडेलले रोजगारी वृद्धिमा योगदान पुर्याउन नसक्ने ढंगले भएका आर्थिक वृद्धिदरको कुनै अर्थ नहुने पनि बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्