
बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा गौरापर्व सम्पन्न भएको छ ।
गौराको मुख्य दिन शनिबार दुर्वाष्टमी अर्थात अठ्यावाली मनाइएको हो । शुक्रबार साँझ गौराघरमा भित्र्याएको गौरालाई ब्रतालु महिलाहरुले गौराखला(आँगन)मा लगेर पूजा गरेका छन् । ब्रतालु महिलाहरुले बिरुडाले दिनभरी फाग गाएर बिरुडा (विभिन्न पाँच थरीका अन्न)ले गौरादेवीको पूजा गरेका हुन् । गौरादेवीमा चढाएको दुबधागो(मन्त्रीएको एक किसिमको धागो) पनि महिलाहरुले धारण गरेका छन् ।
तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै पश्चिम नेपालमा महिलाहरुले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन् । गौराघरबाट गौरालाई सिंगारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाहरुले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन रही आएको छ । गौराको उत्पत्ति, महेश्वरसंगको विवाह लगायतका प्रसंग ब्रतालु महिलाहरुले फाग मार्फत नै भन्ने गरेका छन् ।
ब्रतालु महिलाहरुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान, छोराछोरी र आफन्तजनको चिरायु दिर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । पुरुषहरुले ठाडोखेल, ढुस्को धमारी लगायतका ऐतिहासिक संस्कृतिमा आधारित खेलहरु खेल्ने गर्दछन् ।
महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसि पूजाआजा गर्ने मान्यता छ । गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरु र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आएको पर्व हो ।
सुदूरपश्चिमेलीहरुले दशैं भन्दापनि बढी महत्वका साथ यस पर्वलाई मनाउँने गरेको स्थानीय गणेश विष्टले बताउनुभयो । त्यसैले गौरामा एकै छिन भएपनि डेउडामा रमाउन परदेशिएकाहरु पनि घरपरिवार सम्झिएर फर्किने गर्छन । गौरामा विवाहित चेलीहरु पनि माइत आउने चलन छ ।
प्रतिक्रिया दिनुहोस्