
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संयुक्त अरब इमिरेट्स (यूएई) संसदका उपाध्यक्ष मोहम्मद अहमद अल यामाहीबीच शिष्टाचार भेट भएको छ ।
भेटमा दुवै पक्षबाट नेपाल र यूएईबीचको सम्बन्धलाई थप सुमधुर बनाउने बारेमा कुराकानी भएको थियो । साथै यूएईको तर्फबाट उपाध्यक्ष याहामीले नेपालमा ठूलो लगानी गर्न इच्छुक रहेको बताउनुभएको थियो । त्यस्तै उहाँले दुई देशबीच मिलेर काम गर्दा सम्बन्धले झनै उचाइ छुने र युएईले नेपालमा लगानी गरेको खण्डमा नेपालमा रोजगारीको अवसर जुट्ने बताउनुभयो ।
भेटपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भेटमा नेपालमा व्यापारको लगानीदेखि नेपालका लागि सहयोग र दुई देशबीचको सम्बन्ध राम्रो बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
भेटमा सहभागी दुवै देशका प्रतिनिधि मण्डलले दुई देशको सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्