
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
गत शुक्रबार प्रकाशित कक्षा १२ को नतिजामा दुई विषयमा अनुतीर्ण भएका विद्यार्थीहरूका लागि मौका परीक्षा दिन बोर्डले तालिका सार्वजनिक गरेको हो ।
जस अनुसार आगामी असोज ३० गते अनिवार्य अंग्रेजी अथवा एक विषय मात्रै लागेका विद्यार्थीको हकमा सोही विषयको परीक्षा लिइने छ । दुई विषय लागेका विद्यार्थीको हकमा भने दुई विषय मध्ये आफूले परीक्षा दिने नम्बरहरू मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ ।
यस्तै, असोज ३१ गते दुई विषय लाग्नेहरू मध्ये आफूले परीक्षा दिने विषय मध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने बोर्डले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ । पुरक परीक्षामा सहभागी हुने विद्यार्थीहरूले आगामी असोज ७ गतेभित्र बोर्डको खातामा ६ सय रूपैयाँ परीक्षा शुल्क बुझाउनु पर्नेछ ।
असोज ७ गतेसम्म शुल्क बुझाउन नभ्याउने विद्यार्थीहरूले असोज १४ गतेसम्म दोब्बर दस्तुर तिर्नुपर्ने छ । यसरी परीक्षा शुल्क बुझाएका विद्यार्थीहरूले दस्तुर बुझाएको भौचरसहित असोज २५ गतेभित्र आवेदन फारम बुझाउनु पर्नेछ । गत शुक्रबार प्रकाशित कक्षा १२ को नतिजामा ५२ प्रतिशत विद्यार्थी अनुतीर्ण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्