१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भोगचलनको समस्या समाधान हुन नसक्दा सुकुम्बासीहरु निराश


52
Shares

पाँचथर । पूर्वी पहाडि जिल्ला पाँचथरमा जग्गा भोगचलनको समस्या अझै समाधान हुन सकेको छैन । चार दशकसम्म भोगचलन गरेको जग्गा आफ्नो स्वामित्व ग्रहण गर्न नसक्दा सुकुम्बासीहरु निराश बनेका छन् ।

तीस वर्षे पञ्चायतकालमा पनि छुटफुट नापीका जग्गा धनीलाई लालपूर्जा दिने भन्दै वन क्षेत्र सुदृढीकरण आयोग गठन गरेदेखि अहिले सम्ममा ७ वटा आयोग गठन भए पनि उनीहरुले अहिले सम्म लालपूर्जा पाउन सकेका छैनन ।

सरकारले सुकुम्बासीहरुको समस्या हल गर्न बनाएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाँचथरमा पाँच हजार भन्दा बढी सुकुम्बासीहरुले निवेदन दिएको समितिले जनाएको छ ।

समितिले आईतबार पत्रकार सम्मेलन गरी पाँचथरमा बिभिन्न समय देखि हाल सम्म ५ हजार ८५ जना भूमिहीन सुकुम्बासीले राष्ट्रिय भूमि आयोग जिल्ला समिति समक्ष जग्गा प्राप्तिका लागि निवेदन दिएको जनाएको हो ।

निवेदन दिनेमध्ये भूमिहीन दलित ९०, भूमिहीन सुकुम्बासी १ सय २२ र अव्यवस्थित बसोबासी ४ हजार ८ सय ७३ रहेको आयोगले जनाएको छ । जिल्लाको ८ स्थानिय तह मध्ये याङवर गाँउपालिका बाहेक सबै पालिकाबाट निवेदन आएको समितिले जनाएको छ ।

जिल्लामा मिक्लाजुङ गाउँपालिकाबाट मात्रै जग्गा प्राप्तिका लागि १ हजार ७ सय ७६ जनाले निवेदन दिएको समितिका अध्यक्ष दिनेश लावतीले जानकारी दिनुभयो ।

फालेलुङबाट ८ सय ७८, तुम्बेवाबाट ८ सय ३०,फिदिम नगरपालिकाबाट ७ सय ९६ , हिलिहाङबाट ७ सय २७, फाल्गुनन्दबाट ४२ र कुम्मायकबाट ३३ जनाको निवेदन परेका छन् । हिलिहाङ गाउँपालिकाले निवेदकलाई अस्थायी निस्सा उपलब्ध गराइसकेको छ भने मिक्लाजुङ गाउँपालिकामा डाटा प्रविष्ट गर्ने काम भइरहेको समितिले जनाएको छ ।