
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईंले निजी क्षेत्रले संघीयता प्रत्याभुत गर्न नसकेको बताउनुभएको छ ।
सोमबार वागमती प्रदेशको राजधानी हेटौंडामा भएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै चौलागाईंले यस्तो बताउनुभएको हो । उहाँले संघीयता आइसकेपछि पनि अझै लगानीमैत्री वातावरण हुन नसकेको बताउनु भयो ।
उहाँले उद्योग दर्ता र नविकरणका लागि काठमाडौं जानुपर्ने बाध्यता अझै कायम रहेको उल्लेख गर्दै निजी क्षेत्रका लागि संघीयता आउन नसकेको बताउनु भयो ।
त्यस्तै, व्यवसायी बद्रिनाथ शर्माले संघीयताले निजी क्षेत्रको मानमर्दन गर्ने काम गरेको आरोप लगाउनु भयो । उहाँले तीन तहको सरकारले उद्योगी व्यवसायीहरुलाई औद्योगिक क्षेत्रमा जथाभावी भाडा बढाएर आतङ्कित समेत बनाएको बताउनु भयो ।
शर्माले तीन तहका सरकारहरुले निजीलाई आतङ्कित बनाएर जाने हो भने संघीयता कार्यान्वयनमा चुनौती रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्