१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देश विकास र समृद्धिका लागि गठबन्धनको विकल्प छैन : मन्त्री कार्की

सिट बाँडफाँट सम्मानजनक रुपमा हुने

117
Shares

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउने बताउनुभएको छ ।

मंगलबार मन्त्रालयमा नेपाल प्रेस युनियनसम्बद्ध पत्रकारहरुसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । नेपाल प्रेस युनियनसम्बद्ध पत्रकारहरुले नेपाल मिडिया काउन्सिल विधेयक र समसामयिक विषयमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए ।

मन्त्री कार्कीले निर्वाचन निर्धारित समयमा सम्पन्न हुने उल्लेख गर्दै निर्वाचनमा अहिलेको गठबन्धन कायम रहनेमा शंका नरहेको बताउनुभयो । उहाँले यो गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडो भन्दा चाँडो व्यवहारमा कार्यान्वयन गरेर देखाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन निर्धारित समयमा सम्पन्न हुन्छ र यो निर्वाचनमा अहिलेको जुन गठबन्धन छ, यो गठबन्धन कायम रहन्छ । यो गठबन्धनले मुलुकलाई राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा अग्रसर गराउँछ । यो गठबन्धनले मुलुकको राजनीतिलाई सही ट्रयाकमा ल्याउन गठबन्धनको निर्माण भएको हो । यो गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडो भन्दा चाँडो भाषणमा, टेलिभिजनमा, दस्ता बेजमा होइन, व्यवहारमा अनुभुत हुने गरेर अघि बढाउने दृढ संकल्पका साथ अघि बढ्छ । सिट तीन आधारमा बाँडफाँट हुन्छ, न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका साथ सिटको बाँडफाँट व्यवस्थित रुपले चाँडै नै हुनेछ ।’

मन्त्री कार्कीले गठबन्धनभित्र आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावनाका साथ सिट बाँडफाँट कार्य सम्पन्न हुने स्पष्ट पार्नुभयो