
-हरिविनोद अधिकारी
बन्दाबन्दी अर्थात् लकडाउन अहिलेको हकमा जेठ मसान्तसम्म (३२गतेसम्म)का लागि विस्तार गरिएको छ नेपालमा । लकडाउनको पालना गर्दागर्दै पनि नेपालमा दुई हजार जना भन्दा धेरै कोभिड-१९बाट संक्रमित भएका छन् र अकस्मात निधन हुनेहरुको स्वाब संकलन गर्दा पोजिटिभ भएकाहरुलाई कोभिड-१९ संक्रमित देखिएपछि जम्मा अहिलेसम्म ८ जनाको मृत्यु भएको गणना गरिएको छ । के मान्ने लकडाउनका कारणले कम संक्रमित र कम निधन मान्ने कि लकडाउन हुँदाहुँदै पनि कसरी यो संक्रमण र निधनको कारण बन्यो भनेर चिन्तित हुने ? क्वारेन्टाइनको अवस्था नाजुक छ, परीक्षणको अवस्था विस्तारित हुन सकेको छैन र संक्रमितहरुको हेरचाह गर्ने क्षमतामा एउटै मानक देखिँदैन ।
क्षमता विस्तार र सञ्चय हुन नसक्नुमा कसको दोष हो ? सरकार पनि छ, उच्चस्तरीय समिति पनि छ, आकस्मिक अनुगमन गर्ने र ओखतीको व्यवस्था गर्ने मन्त्रालय पनि छ, विभाग पनि छ तर संक्रमितहरु अवहेलित भएका समाचारहरु आउँदैछन् , स्वयं पत्रकारहरु नै संक्रमित छन् र उनीहरुका समाचारले त्यस्तै देखाउँछन् । स्वास्थ्यकर्मीहरुको आफ्नै गुनासो छ र सुरक्षाकर्मीहरु धमाधम संक्रमित हुँदैछन् र पनि खटाएका ठाउँमा गएकै छन् सबै ।
सरकारी सुविधा नभए पनि निजी पत्रकारिताका साथीहरु समाचारद्वारा सुसूचित गर्नका लागि खाई न पाई छालाको टोपी लाई भनेझैँ खटेकै छन्, राहतका वारेमा भएका असमानताको समाचार दिएकै छन् ,बाहिरबाट नेपाल आउने नेपालीहरुका वारेमा सुसूचित गरेकै छन् अनि सरकार ती कुराहरुमा नजरअन्दाज गर्दै अतिरञ्जित गरे भनेर धमाधम अनलाइनहरु ब्लक गर्दैछ र समाचारका लागि नयाँ नयाँ मानक तयार गर्दैछ यही लकडाउनमै ।
सरकारको गतिचाहिँ आफ्नै पद र कुर्सी जोगाउन लागेको देखिन्छ । यदि राजनीतिक विश्लेषणको अहिलेसम्मको मानक हेर्ने हो भने संविधान संशोधन लगत्तै सरकारमाथि ठूलो बज्रपात सुरु हुन्छ जस्तो कि संविधान घोषणा गर्ने बित्तिकै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालामाथि देशी विदेशी खनिएर पदच्यूत गरेका थिए संविधानको बाटोबाटै ।
अहिले पनि चाहे नक्शाका वारेमा कूटनीतिक वार्तामा असफल भएका कारणले होस् या मिलेनियम च्यालेन्ज कर्पोरेसनको कार्यान्वयनका वारेमा होस् , सरकार हट्दैछ भन्ने आभास पाइन्छ । सायद यो सरकारको घैँटोमा पानी भरिएर होला । एकातिर आधा आधा समयको पालो पनि बेला भएको छ, अर्कोतिर सरकारमा बस्नेहरुको अहंकारले मुलुक गत्यावरोधमा अड्किएको छ ।
लकडाउन जारी छ र घरैमा बसेर आफूलाई पुनरावलोकन गर्ने काम भइरहेको छ । सायद यति लामो लकडाउन अब फेरि जीवनमा भोग्नु नपर्ला । लकडाउन पनि अचम्भको छ । सरकारवादीहरुका लागि लकडाउन रमाइलो मनाउने बेला ठहरिएको छ । लाखौं मानिसहरुको बिचल्लीसहितको गतिशीलता पनि यही बेलामा चलेकै छ । गाडी दुर्घटनामा मानिसहरु मरेकै छन् एकातिर भने गाडीहरुलाई चलाएबापत कार्बाही पनि भएकै देखिन्छ । गाउँका गाउँ मानिसहरु झगडामा देखिन्छन् र गाउँका सबै मानिसहरु ओइरिएर रुकुममा नवराज विक सहित अरु ५ जनाको हत्या गरिन्छ जातको उँचनीचका आधारमा प्रेमविवाह गर्न लागेको कारणले । सत्यतथ्य विस्तारै आउला तर कसरी लकडाउन पालना भएको छ भन्ने यो पनि एउटा जीवन्त उदाहरण बनेको छ नेपाली सामाजिक अभियानको एउटा कालखण्डमा ।
वास्तवमा लकडाउनमा, आफूलाई एकान्तवासको अवधिमा आफैंले पुनरावलोकन गर्ने समय भएको छ आफूलाई । लकडाउन कुनै ओखती त होइन तर सरुवा रोग भएकाले लागेका व्यक्तिहरुबाट नसारियोस् भनेर उनीहरुसँग टाढा टाढा बस्ने उपायमात्र हो र पनि कसरी यसरी संक्रमणले आफूलाई विस्तार गरेको हो भन्नेकुरामा जो पनि सतर्क हुनै पर्ने बेला भएको छ । कतिपय कामहरु अधूरा छन्, थाहा छ यही अनिश्चित लकडाउनका बेलामा धमाधम गर्नुपर्ने हो तर अव्यक्त भयले होला, हातै चल्दैन ।
कुनै पनि पुस्तक पूरा पढ्न मन नै लाग्दैन । काम गर्दागर्दै दिक्क लाग्छ किन दिक्क लाग्छ थाहा छैन । मनोविद्हरु भन्छन् यो दिक्दारीपनलाई छिटो छिटो हटाउनुस् तर थाहा छ यस्तो हुनु हुँदैन तर हुने रहेछ आफैँमा । अनि भविष्यको त्यो अँध्यारो समयमा घुम्नुभन्दा अतीतमा नै फर्केर हराउनु बेस हुने रहेछ । मलाई पनि यो बेलामा घरी घरी त्यही जन्मेको गाउँ, घर, परिवार, ठाउँ, लेक वेसी गरेको बेला, खेतमा रोपाइँ, दाईँ गरेको बेला, आली लगाएको हेर्न गएको र आफूले अलिकति माटो आउने कोदालीबाट हिलो माटो झिक्दै आलीमा राख्दै सम्याउने गरेको याद आउँछ ।
आमाले बोलाएर दिएको खाजा र ब्रतबन्धपछि धोती फेरेरमात्र चुलामा गएको र खाँदा नबोल्ने आफ्नू चलनले कतिपटक चाहिएको बेलामा भात, दाल, तरकारी, अचार नथपेका याद आउन थालेको छ । आमाको लाडप्यार, बाको माया, बासँग गाउँमा घुम्न जाँदा ती घरमा दिने फलफुल र दही खासगरी मालभोग केराको स्वाद अहिले पनि मुखैमा छ जस्तो लाग्छ । घरमा त पाक्ने केराको वास्तै हुँदैनथ्यो, जति खाए पनि भयो । मालभोग केराको स्वाद खोइ अहिलेको आयातीत केरामा कुनै स्वाद नै देखिँदैन । नेपालका कतिपय गाउँमा अहिले पनि मालभोग केराको खेती त हुन्छ तर त्यो केराको उत्पादन कमै छ । त्यो बेलाका ग्याँवरा उखु । हामी ढोडे उखु भन्थ्यौं आजको यो कालो उखुलाई, कहाँ पो मनलाएर खाइन्थ्यो र । त्यो सेतो भनौं कि हरियो भनौं ग्यांवरा उखुको स्वादका अघिल्तिर ढोडे उखुको स्वाद नुनिलो पनि लाग्ने र खान पनि मज्जा नलाग्ने ।
जीवन त अहिले सहज छ तर बालापनको त्यो सीमित घेराको जीवन पो जीवन रहेछ । न शोक, न सुर्ता । न कुनै चीन कसैका लागि दिनु पर्ने, न लिनु पर्ने । सबै कुराको टन्टा बा आमाका लागि मात्र हुने । अनि राम्री दिदी थिइन् हाम्रा घरमा । नाम त राम्री हो तर हामी कहिलेकाहीँ सोध्थ्यौँ दिदी तपार्इँको नाम कसले राख्यो राम्री ? ऊ अनि रिसाएर भन्थिन् -सोध न तिम्रै बाबुलाई, हजुर्बालाई, हजुर्आमालाई ? कारण थियो दिदी अमलेख भइसकेका करिया सान्दाइकी छोरी थिइन् र कथा भन्ने कलाका लागि हामीलाई मोहित पार्थिन् । राम्री दिदी अँगेनाका डिलमा बसेर कथा कतिबेर भन्लिन् भनेर हामी, खासगरी विष्णु भाइ र म, पहिल्यै नै अँगेनाको डिलमा ठाउँ ओगटेर बस्थ्यौं र अलिकति ठाउँ राम्री दिदीलाई छोड्थ्यौं किनभने ऊ नै हाम्री व्यासासनकी पण्डित जस्तै हुन्थिन । उनी विना हामीलाई कसले पो कथा सुनाउँथ्यो र ? अनि घरका आवश्यक काम सिध्याएर जब राम्री दिदी अँगेनाको डिलमा बस्थिन् हाम्रो अघिल्ला दिनको कथाको कडीबाट सुरु हुन्थ्यो दन्त्यकथा ।
उसले कखग पनि पढेको जस्तो लाग्दैन तर कथामा ऊ पण्डितहरुका श्लोकहरु पनि शुद्धै भन्थिन् र अर्थ पनि लगाउँथिन् । यसरी कथा भन्थिन् कि कहिले हामी रुन्थ्यौँ त कहिले पेट मिची मिची हाँसी रहन्थ्यौं । ऊ निर्विकाररुपमा हामीलाई कथा भनिरहेकी हुन्थिन् । शिशिर वसन्तको कथा मैले सबैभन्दा पहिले त्यही अँगेनाको डिलमा सुनेको हुँ । अनि उसको कथाको सबैभन्दा मज्जाको कुरा हुन्थ्यो–एकादेशमा भनेर लामो सँग भन्ने र वनको बारेमा भन्नुपर्दा ब्रिन्दावनमा भन्ने । ब्रिन्दावन भनेपछि हामीले बुझ्थ्यौं कि त्यो साह्रै नै बाक्लो वन थियो ।
अनि एउटा उसले भनेको कथा यस्तो थियो-एकादेशमा एउटा गरिब परिवार थियो । आमासँगै दाजु र भाइ थिए । दाजु अलि मिचाहा थियो र काम जत्ति भाइलाई लगाउँथ्यो । एकदिन भाइ ज्वरो आएर सुतिरहेको थियो । जंगलबाट दाउरा लिएर गाउँमा बेचेर पैसा ल्याउने र घरका लागि आवश्यक चाहिने सामान किनेर ल्याउनु थियो । आमाले भनिछन्, आज भाइ ज्वरो आएर सुतेको छ बाबै, आज तँ जंगल जा र दाउरा काटेर गाउँमा लैजा र बेचेर पैसाले, अनि घरका लागि नुन बेसार सामल किनेर ले । घरमा त अलिकति ढुटोबाहेक केही पनि छैन । दाजु फन् फनियो र जान्न भन्यो । अनि आमाले सानो छोरालाई गएर भनिछन् , बाबु कान्छा जंगलमा जा र एकभारी दाउरा ले अनि गाउँमा गएर बेच् अनि सामल लिएर आइज ।
कान्छाले भनेछ-आमै आज मलाई नाताकत भाकोछ, जान सक्छि, रिंगटा लागेको छ । अनि आमाले भनिछन्, त्यसो भए मै बुढी गएर दाउरा काटेर बेचेर आउँछु । त्यति भन्दा पनि जेठाले जान मानेनछ । भाइलाई नै पठाऊ आमै, त्यसले ठगेको भनेछ । अनि कान्छो उठेछ र र नाम्लो बरियो र खुर्पा लिएर हिँड्न आँटे-आमै आज मलाई नाताकत भाकोछ, जान सक्दिन, रिंगटा लागेको छ । अनि आमाले भनिछन् , त्यसो भए मै बुढी गएर दाउरा काटेर बेचेर आउँछु । त्यति भन्दा पनि जेठाले जान मानेनछ ।
भाइलाई नै पठाऊ आमै, त्यसले ठगेको भनेछ । अनि कान्छो उठेछ र नाम्लो बरियो र खुर्पा लिएर हिँड्न आँटेपछि आमाको मन न हो, तुरुन्तै ढुटोको तीनओटा रोटी पकाएर रुमालमा हालिछन् र भनिछन् -कान्छा भोक लाग्यो भने खोलाको छेउमा जानू र यी रोटीहरु खानू । उसलाई साँच्चै रिँगटा लागेको थियो । अलिपट खोलाको छेउमा पुगेर दाउर काटेपछि भोक लाग्यो अनि रोटी सम्झेर झिक्यो । तर ज्वरोले गर्दा खान पनि मन थिएन र ढुटाको रोटी पनि खान मन थिएन । अनि खोलाको छेउको ढुंगोमा गएर बस्यो र भन्यो-एउटा खाउँ कि दुईटा खाउँ कि तीनओटै खाउँ ।
खान मन नभएकाले र ढुटाको रोटी ओल्टाइ कोल्टाइ फेरि ठूलो स्वरले भनेछ रे-एउटा खाउँ कि दुईटा खाउँ कि तीनओटै खाउँ । खानचाहिँ सक्दोरैनछ । त्यही ढुंगाको कापमा तल एउटा भुत आफ्नी स्वास्नीसँग र एउटा छोरासँगै बस्दो रहेछ रे । अनि ठूलो स्वरले कान्छाले कराएको सुनेर भनेछ रे, ए बुढी त्यो मनुवा किन कराएको हो सुन् त । अनि भुतका लोग्नेस्वास्नी दुबैले कान लगाएर सुने, त्यही कुरा एउटा खाउँ कि दुईटा खाउँ कि तीनओटै खाउँ । परेन फसाद भुतको परिबारलाई । यो मनुवा त कराई कराई पो भन्छ कि एउटा खाउँ कि दुईओटा खाउँ कि तीनओटा खाउँ भनेर ।
कान्छो मान्छेचाहिँ चलाख पनि थियो, कुरो चाँडै बुझ्थ्यो । अनि बाबु भुतचाहिँ ढुंगाको कापबाट बाहिर आएर सोधेछ कान्छालाई, हे मनुवा हामीलाई नखाऊ, तिमीलाई म एउटा पाक ताउलो दिन्छु, जे मागे पनि त्यसले खाना पकाएर दिन्छ जतिजानालाई पनि । अनि कान्छाले कुरोको चुरो बुझ्यो र थाहा नपाएजस्तो गरी फेरि कराउँदै भनेर–एउटा खाउँ कि दुईओटा खाउँ कि तीनओटा खाउँ । भुत डराएर पाक ताउली ल्याएर देखाउँदै भनेछ, अहिल्यै म पकाएर ख्वाउन सिकाउँछु, जे खाने हो अहिले पकाएर खाऊ मनुवा । अनि कान्छाले पनि भनेछ-आज मलाई खीर खान मन छ, लु त ख्वा भुत । अनि के चाहियो भुत खुसी भएर तत्काल मनुवालाई खीर पकाएर ख्वा त पाकताउली भनेछ । तत्कालै खीर पकाएर पाक ताउलीले ख्वाएछ । कान्छोको भोक पनि मर्यो, ढुटोको रोटी पनि थपक्कसँग भारीमा मिलाएर राख्यो । दाउरा लियो र बाटोमा दिदीको घरमा पसेर रमाइलो गर्न मन लाग्यो र दिदीलाई पनि चाम्रे पकाएर ख्वायो । दिदी एकदम खुसी त भई तर त्यो पाक ताउलो कसरी हत्याउने भनेर सोच्दै थिइ, भाइलाई एकछिन आराम गर म आमालाई गाउँबाट चामल खोजेर ल्याइदिन्छु भन्दै भाइलाई एकछिन आराम गर्नका लागि ओछ्यान लाइदिई । अनि भाइ पनि दिदी गाउँबाट फर्केर नआउन्जेलसम्मका लागि यसो के सुतेको थियो, दिदीले त त्यस्तै पाकताउली खोजेर भाइको ताउली साटिछे र भाइलाई भनिछे, भाइ ढिलो हुन लाग्यो अब जा, दाउरा बेच्न पनि आज गाउँतिर नजा, मैले आमालाई चामलको सामल खोजेकी छु ।
भाइ खुसी हुँदै दाउरा लिएर घरमा पुग्यो र आमालाई पाकताउलीको वारेमा महत्व बताउँदै पाकताउलीलाई भन्यो–ए पाकताउली, आज हाम्री आमालाई खीर खान मन छ रे, छिटै खीर अनि तारेको आलुको तरकारी दे । के दिन्थ्यो त्यो नक्कली पाकताउलीले । दिएन । आमाले कान्छालाई भनी, यसलाई ज्वरोले गाँजेछ क्यारे, अनि यस्तो ताइ न तुइको कुरा गर्दोरहेछ । तर उसले अरु त केही भनेन , कहिले भोलि होला र भुतको घरमा गएर पाकताउली साटुँला भन्ने भयो । भोलिपल्ट त ज्वरो पनि आएको थिएन ।
कुद्दै कुद्दै त्यो खोलाको छेउमा पुग्यो र त्यही ढुंगाको थाप्लोमा बसेर भुतलाई बोलाउन थाल्यो । तर भुतको नाम पनि थाहा थिएन र कसले बोलाएको भनेर भुतले वास्ता पनि गरेन । अनि हिजोकै जस्तो कान्छाले भनेछ-एउटा खाउँ कि दुईटा खाउँ कि तीनओटा खाउँ । भुतले हिजोको बोली आज पनि सुनेछ र डराएर बाहिर आएछ र भनेछ-मनुवा, अब के भयो त फेरि ? हिजो पाकताउलो दिएको थिएँ । कान्छो रिसाएर भनेछ-अं नक्कली पाकताउलो दिएर । ला तेरो पाकताउलो, राख् । भुतले देख्यो, त्यो त उसको पाकताउलो होइन । तर केही नभनी एउटा सुनको बड्कुला बड्कुल्याउने बाख्रो दिएछ र भनेछ भुतले-यो सिर्कनाले बिस्तारै कुट्नू अनि भन्नु ए बाख्रा सुनको बड्कुला दे आज दशओटा । तर दिनको दशओटाभन्दा बढीचाहिँ नमाग्नू नि । अनि यसो सिर्कनाले कुटेको जस्तो गरेपछि बाख्राले तत्कालै दशओटा सुनका बड्कुला दिएछ रे । अनि कान्छोले भनेछ-यसमा त फरक नपर्ला नि ।
अनि भुतले भनेछ-दशओटा सुनका टुक्रा छन् नि, त्यही प्रमाण भएन र ? अनि कान्छो खुसी हुँदै बाख्रो घिसार्दै घरतिर हिँडेछ । फेरि दिदीका घरमा यसो पसेछ र भनेछ-दिदी दिदी आज त बाख्रो लिएर आएँ, यसले त सुन पो बड्कुल्याउँछ भन्दै दशओटा सुनका बड्कुला देखाएछ । दिदीलाई यो पनि चाहियो तर कसरी फुत्काउने भन्दै भाइलाई भनिछे-भाइ भाइ मेरो गाईले ऊ त्यहाँ अर्काको बाली खान लाग्यो, धपाएर लिएर आइज, म तँलाई खाजा बनाएर दिन्छु अनि त्यो खाएर घर जानू । भाइलाई दिदीप्रति न त हिजो कुनै शंका थियो, न त आज कुनै शंका रह्यो । अनि दिदीको गाईलाई धपाउँदै घरसम्म ल्याउँदा केही बेर लाग्यो, आयो खाजा खायो, अनि सिँगारी बाख्रो घिसार्दै घरतिर हिँड्यो ।
बाटोमा आमालाई आज त सुनको बड्कुला पनि दिन्छु अनि रातमा भोलि फेरि दशओटा बड्कुला बड्कुल्याउन लगाएर बाँडाका घरमा बेच्न जान्छु आमासँगै अनि आमालाई सुनको जन्तर बनाउँछु भन्ने कल्पना गर्दै घर पुग्यो । आजको बेलीविस्तार लायो । कहिले विहान होला र नुहाएर बाख्रालाई बडेकुल्याउन लाउँला भन्दै रातभरि निदाएन अनि सखारै सुनकोशीमा गएर नुहायो र आयो । धुपधुँवार गर्यो अनि बाख्रालाई सानो सिर्कनाले कुट्दै आजै अहिले नै दशओटा बड्कुला दे त भन्यो । तर त्यो बाख्राले दिएन किनभने दिदीले त्यस्तै बाख्रो खोजेर राखेकी थिई र कान्छाको बाख्रोचाहिँ खोरमा हुलेकी थिई ।
यसो सिर्कनाले कुट्यो, भएन, झन बेसरी पिट्यो भएन अनि न रीसले कुद्दै कुद्दै त्यही ढुंगामा गयो र भन्न थाल्यो मुर्मुरिएर ठूलो ठूलो स्वरले ढुटाको रोटी निकालेर-एउटा खाउँ कि दुईटा खाउँ कि तीनोटा खाउँ । बारम्बार भनेपछि घुम्न गएको भुतले थाहा पायो अनि दौडदै घरमा आयो र कान्छालाई भन्यो–के भयो मनुवा अब ? कान्छो मुर्मुराउँदै रिसाएर भन्यो-के हो भुत, यस्तो चाला, हिजो पनि अस्ति पनि मलाई किन झुक्याएको ? अब त म खान्छु खान्छु तिमीहरुलाई ? अनि भुतले भनेछ-मनुवा, कसैले तिमीलाई ठगेजस्तो छ । तिमी मसँग छुट्टिएर सिधै घरमा गयौ कि कतै बस्यौँ ? अनि उसले भनेछ, दिदीको घरमा बसेको थिएँ तर मेरी दिदी मलाई माया गर्छे, सोझी छे उसले केही पनि गरेकी छैन , तैँले नै ठगेको होस् । भुतले भन्यो , अब मसँग एउटा बज्रस्वाँठ छ, त्यसैलाई लिएर जानू । जे पनि काम गर्छ । महसुर छ । तर दुईहातको लौरो जस्तो छ, जे काम पनि गर्छ । त्यसले तिम्रो आदेशमा जसलाई पनि पिट्न पनि सक्छ, जस्तो काम पनि गर्न सक्छ । अब तिम्रा दुःखका दिन गए , त्यही बुझ । तर तिमीबाहेक अरु कसैले छोए पनि यसले पिट्न थाल्छ, तिमीले नभनुन्जेलसम्म त्यो चुप लाग्दैन ,पिटिरहन्छ । ल कसैलाई पनि अब यसको बयान नगर्नू नि बाटोमा ।
नभन्दै फेरि दिदीको घरमा गएर आज पनि भुतको घरमा गएर आएको भन्यो तर बज्रस्वाँठका वारेमा केही भनेन । अनि यसो सुते जस्तो के गरेको थियो, दिदीले यसो झोलामा के रहेछ भनेर चोर्न खोजेकी थिई, त्यो बज्रस्वाँठले दिदीलाई धमाधम पिट्न थाल्यो । दिदी जति जति भाग्छे उति उति पछि पछि लागेर पिट्न थालेपछि दिदी रुँदैरुँदै भाइ सुतेको ठाउँमा आई र ए भाइ मलाई बचा भन्न थालिछे । अनि आफैँले चोरेको पाकताउली र बाख्रो भाइलाई दिएर माफी माग्दै बचाउन भनेपछि बज्रस्वाँठलाई भाइले भनेछ-छोड्दे छोड्दे, दिदी हो, गल्ती सच्याई हाली छोडदे । अनि आज पनि दिदीलाई चाम्रे खुवायो अनि पाकताउलो झोलामा हाल्यो र बाख्रो घिसार्दै बज्रस्वाँठलाई अर्को झोलामा राख्दै घरमा पुगेछ रे र आमालाई सबैकुरा भनेछ । दाजुलाई पनि बोलाएर घरमा खीर आलुकोपीको तरकारी पकाउन लगायो पाकताउलीलाई अनि थपी थपी सबैले खाएछन् ।
भोलिपल्ट विहानै बाख्रालाई दशओटा बड्कुला बड्कुल्याउन लगाएर बाँडाको घरमा गएछन् र आमाका लागि गहना बनाएछन् । जोत्न बाँकी पाखो बारी खन्न बज्रस्वाँठलाई लगाएछन् । अनि दुईओटी राम्री विन्दाजस्ती केटी खोजेर बुढी आमाले जेठा र कान्छाको बिहे गरिछन् अनि छोराहरु धनी भइसकेका थिए । दुवैका लागि एउटा एउटा घर मतान गोठ बनाएर छुट्टै बस्ने व्यवस्था गरिछे र आफूचाहिँ कान्छा छोरा र बुहारीसँग बसिछन् । अनि कान्छाको छोरो जन्मेछ, अनि बुढी बार्दलीमा नाति खेलाएर कान्छो घोडा चढेर बन्दबेपार गरेर राती कतिबेर आउँछ भन्दै पखेर बस्दी रहिछन् रे । सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा सरासर बैकुण्ठ जाला अनि मैले भन्ने बेलामा मेरो मुखमा सरासरी आउला ।
राम्री दिदीका यी र यस्तै कथाहरुको स्वाद हामीलाई मात्र आएन, मेरा छोरा भाइहरुलाई पनि लाग्यो । अब ती दिदी रहिनन् तर उनको त्यो क्षमताको म अहिले पनि लकडाउनमा सम्झना गरिरहेको छु । लकडाउन अझै कति लम्बिने हो थाहा छैन । लकडाउन एउटा सरुवा रोगलाई नसार्ने उपायमात्रै हो भन्दा पनि कतै नभेटिएको ओखती जस्तै नगर्ने र यसलाई सजगताका साथ पालना गर्ने काम पो गर्ने हो कि ? फेरि लकडाउन छोडौँ युरोपका स्पेन, बेलायत, इटाली, अमेरिका, ब्राजिल जस्तै पो हुने हो कि भन्ने पनि छ । ती विकसित देशहरुले त यसमा पार पाउन सकेनन् भने हाम्रो त के हालत होला हजारौँमा संक्रमण भएपछि ?
कल्पना गरौँ, हाम्रो लकडाउनको समय सकिँदै संसारमा कोभिड-१९को ओखती अनुसन्धान हुनेछ र संसारभर सहजतरिकाले सस्तोमा उपलब्ध हुनेछ । नेपालमा अब कुनै हानि हुनेछैन । श्री पशुपति नाथले हामी सबैको कल्याण गरुन् । कोरोनाको महामारी नेपालबाट छिटै समाप्त होस् । लकडाउन ध्यानको बेला भएको छ र सामान्य अवस्थामा आउन छिटै पाइयोस् ।
प्रतिक्रिया दिनुहोस्