२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रिय सभाका विषयगत समितिमा सभापतिकाे निर्वाचनका लागि उम्मेदवारले गरे मनोनयन दर्ता


208
Shares

काठमाडाैं । राष्ट्रिय सभाका ४ वटा विषयगत समितिमा रिक्त रहेका सभापति पदको निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।

बुधबार सिंहदरबारस्थित राष्ट्रिय सभाको सचिवको निजी सचिवालयमा पुगेर उम्मेदवारहरुले सभापति पदका लागि आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले राष्ट्रिय सभाका ४ वटा विषयगत समिति सभापतिको निर्वाचनका लागि मनोनयन दर्ता भएको जानकारी दिनुभयो ।

जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले मनोनयन दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावमा महेशकुमार महरा र समर्थकमा जगप्रसाद शर्मा रहेका छन् । त्यस्तै अनिता देवकोटाको प्रस्तावमा र देवेन्द्र दाहालको समर्थनमा विधायन व्यवस्थापन समिति सभापतिका लागि वेदुराम भुषालले मनोनयन दर्ता गर्नुभएको छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्माको मनोनयन परेको छ ।

उहाँको प्रस्तावक मदनकुमारी शाह (गरिमा) रहनुभएको छ भने समर्थकमा युवराज शर्मा रहनुभएको छ । त्यस्तैगरी राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा पार्वतीको मनोनयन दर्ता भएको छ । उहाँलाई गोपीबहादुर सार्की आछामीले प्रस्ताव गर्नुभएको छ भने दुर्गा गुरुङले समर्थन गर्नुभएको छ ।

४ वटै विषयगत समितिको सभापतिहरुको निर्वाचन भदौ २३ गते बिहिबार दिउँसो १ बजे हुने राष्ट्रिय सभाका सचिव फूयालले जानकारी दिनुभयो । सम्बन्धित समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको बैठकमा प्रस्तावकले प्रस्ताव पेश गरेसँगै प्रक्रिया अगाडी बढी सभापति निर्वाचित हुने उहाँले उल्लेख गर्नुभयो ।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै दिगो विकास तथा सुशासन समिति सभापतिका उम्मेदवार प्रकाश पन्थले सुशासन र दिगो विकासको सम्बन्धमा सरकारले गरेको कामको अनुगमन तथा निर्देशन दिन आफ्नो भूमिका हुने बताउनुभयो ।

त्यस्तैगरी राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पदकी उम्मेदवार दिलकुमारी रावल थापा पार्वतीले सरकारलाई समितिप्रति जवाफदेही बनाउन आफ्नो भूमिका हुने बताउनुभयो । उहाँले समितिले सरकारलाई दिने निर्देशनलाई यथार्थपरक र कार्यान्वयनयोग्य बनाउनका लागि पनि आफ्नो भूमिका हुने बताउनुभयो