२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रियसभामा सभापतिहरु सर्वसम्मत


182
Shares

काठमाडौं । राष्ट्रियसभाका विषयगत चार समितिका सभापतिहरु सर्वसम्मत भएका छन् ।

सभापतिका लागि बिहीबार निर्वाचन गर्ने तय भएको छ । यसका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको तालिका थियो । तालिका अनुसार चार सभापतिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका महासचिव समेत रहेका बेदुराम भुसालले उम्मेदवारी दिनुभएको छ ।

राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेकी पार्वती रावल (दिलकुमारी) को उम्मेदवारी परेको छ । यसअघि पनि उहाँ नै सभापति हुनुहुन्थ्यो । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्माको उम्मेदवारी परेको छ । यसअघि यो समितिको सभापतिमा रामनारायण बिँडारी हुनुहुन्थ्यो । २०७८ फागुन १९ मा कार्यकाल सकिएर बिँडार विदा भएपछि रिक्त रहेको सभापति पदमा माओवादी केन्द्रका शर्माले उम्मेदवारी दिनुभएको हो ।

दिगो विकास तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका प्रकाश पन्थको उम्मेदवारी परेको छ । राष्ट्रियसभाका विषयगत समितिका सभापति पद कार्यकाल सकिएर २१ फागुन २०७८ मा कार्यकाल बिदा हुनुभएको थियो । रिक्त राष्ट्रियसभा सदस्य पदमा २०७८ माघ १२ मै नयाँ सदस्य निर्वाचित भएका थिए । उनीहरु राष्ट्रियसभामा क्रियाशील छन् । ५९ सदस्यीय राष्ट्रियसभा सदस्यका लागि प्रत्येक दुई÷दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ ।

राष्ट्रियसभाको नियमावलीमा एक तिहाइ सदस्यको पद रिक्त भएपछि समिति पुनर्गठन र सभापति हेरफेर गर्नुपर्ने व्यवस्था छ । यस अनुसार सभापति चयन हुन लागेको हो । तर ७ महिना ढिलो गरी समितिले सभापति पाएको हो ।