
काठमाडौं । नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्र बहादुर चन्द निर्वाचित भएका छन् ।
बुधबार भएको चुनावी साधारण सभामा निरोज मास्केलाई २६ मतले पराजित गर्दै चन्द संघको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित चन्दले ७६ मत ल्याउँदा मास्केले ५० मत प्राप्त गरिन् ।
महासचिव पदमा चन्दकै प्यानलका रोशन श्रेष्ठ निर्वाचित भए । उनले मनवीर छन्तयाललाई हराए । श्रेष्ठले ८५ र मनवीरले ३९ मत प्राप्त गरे । कोषाध्यक्षमा पनि चन्द प्यानलकै श्याम श्रेष्ठ निर्वाचित भए ।
उपाध्यक्ष पदमा याम बहादुर गुरुङ (गण्डकी), उपेन्द्र कुमार यादव (मधेश प्रदेश), हर्क सिंह धामी (सुदूरपश्चिम), मदन खड्का (प्रदेश १) र भिम ओली (लुम्बिनी) निर्विरोध निर्वाचित भए । बागमती प्रदेशबाट उपाध्यक्षमा गौतम प्रसाद लासिवा विजयी भए । उनले ६४ मत ल्याउँदै ५९ मत प्राप्त गरेकी ज्योति केसीलाई ५ मतले हराए ।
उपाध्यक्षमा निर्विरोध भएको भनिएका भरतबहादुर शाह कर्णालीको नभएका कारण उनको उम्मेदवारी अन्तिम समयमा बदर भएको थियो । उपाध्यक्ष (कर्णाली) पद हाललाई रिक्त रहने बताइएको छ ।
सचिवमा सोम बहादुर श्रेष्ठ (मंगल) (कर्णाली), महम्मद फिरोज (मधेश), श्रीधर शर्मा (गण्डकी), गणेश सिंह ठगुन्ना (सुदूर) र सुनकेशरी माली (बागमती) प्रदेशबाट निर्विरोध निर्वाचित भए ।
सचिव पदमा लुम्बिनी प्रदेशतर्फ भएको निर्वाचनमा झक बहादुर मिदुनले ७३ मत ल्याउँदै ३७ मत प्राप्त गरेका दीपक जिएमलाई पछि पारे । प्रदेश १ सचिवतर्फ विनोद सुवेदीले ६५ मतका साथ ४४ मत ल्याएका विश्वराज धिमाललाई पराजित गरे ।
संघको निर्वाचनमा १ सय ३१ मतदातामा ३ जनाबाहेक सबैले मतदान गरेका थिए ।
संघको नयाँ नेतृत्व सहित ७ उपाध्यक्ष, १ महासचिव, ७ सचिव, १ कोषाध्यक्ष र ११ कार्यसमिति सदस्यका लागि निर्वाचन भएको थियो । संघमा दुई उपाध्यक्ष र १० जना सदस्य मनोनयनबाट आउनेछन् ।
प्रतिक्रिया दिनुहोस्